कोशीमा माओवादी रोक्ने एमालेको योजना

कोशीमा माओवादी रोक्ने एमालेको योजना

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्ति पाएको पाँच दिनमै विश्वासको मत लिएका छन्।

काँग्रेसको विद्रोही समूहको नेतृत्व गरेर एमालेको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका कार्कीले बुधवार ९३ सदस्यीय प्रदेशसभामा ८६ मत पाए।

पाँचौँ मुख्यमन्त्री बनेका कार्कीले एमालेका ३९, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाको एक मत पाए। ५ सदस्य रहेको राप्रपा विपक्षमा बसेको छ।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्कीले सहमतीय सरकारका लागि प्रयास गर्ने बताएका छन्। मुख्यमन्त्रीमा समर्थन नगरेका दलको समेत विश्वासको मत पाएका कार्कीले सहमतीय सरकारकै लागि प्रयास गर्ने प्रतिक्रिया दिए।

आफ्नै पार्टीबाट कार्की मुख्यमन्त्री बने पछि काँग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका पूर्वमुख्यमन्त्री उद्धव थापाले काँग्रेसका ८ भाइ फुटाउने एमालेको प्रयास असफल बनाएको दाबी गरे। उनले एमालेबाटै पाठ सिकेर पछिल्लो कदम चालेको सुनाए।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमाले र काँग्रेसको गठबन्धन स्वाभाविक नभएको दाबी गरे। राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले वर्तमान मुख्यमन्त्री कार्की नेतृत्वको सरकार तरबारको धारमा रहेको उल्लेख गरे।

काँग्रेसको कोशी विद्रोहले प्रचण्डलाई छटपटी

कोशी प्रदेशमा नेकपा एमाले सरकारमै प्रवेश गरेपछि गठबन्धन दल आत्तिएका छन्। एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत दिए पछि माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले एमालेलाई सरकारबाट बाहिरिन भनेका छन्।

गठबन्धन फुटाउने एमालेको प्रयास पछि आफूहरूले कार्कीलाई गठबन्धनको मत दिएको भन्दै नैतिकता भए विश्वासको मत दिइसके पछि प्रतिपक्षमा बस्न आङ्बोले एमालेलाई सुझाए। गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका आङ्बो कार्कीकै कारण मुख्यमन्त्री बन्न असफल भएका थिए।

माओवादीले सरकारबाट बाहिरिन चुनौती दिए पछि एमालेले फर्जी हस्ताक्षर लिएर मुख्यमन्त्रीको दाबी गरेको आधारमा आङ्बोलाई कारबाही हुनुपर्ने माग गरेको छ।

गठबन्धनमा रहेका दलका सांसदका पुरानो हस्ताक्षर लिएर मुख्यमन्त्री दाबी गरेका आङ्बोलाई एमालेले पानी बिनाको माछासँग तुलना गरेको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार बिना बस्न नसक्ने भए पछि एमालेसँग निहुँ खोजेको जवाफ फर्काएका छन्।

अब प्रदेश सरकारलाई पूर्णता दिनेबारे मुख्यमन्त्री कार्कीले काँग्रेस र एमाले मिलेर मन्त्रालय भागबन्डा टुङ्ग्याउने बचन दिनुभएको एमालेका पूर्वमुख्यमन्त्री कार्कीले बताए।

कोशीमा काँग्रेससँग सत्ता सहकार्यको सुरुवात गरेको एमाले हौसिएको छ। कार्कीले एमालेले उल्टै गठबन्धनबाट माओवादी र एकीकृत समाजवादीलाई आउट गर्ने योजना बनाएको बताए।

कोशीमा मुख्यमन्त्री हात पार्ने प्रयास असफल भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दल सहभागी भएर सरकार चलाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले चुनावमा प्रतिस्पर्धा गरे पनि चुनावपछि राष्ट्रिय सहमति अर्थात् मिलीजुली सरकार बनाउनुपर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.