परराष्ट्रले भन्यो, इजरायलमा बेपत्ता जोशी बाहेक सबैको उद्धार

परराष्ट्रले भन्यो, इजरायलमा बेपत्ता जोशी बाहेक सबैको उद्धार

काठमाडौं : इजरायल आक्रमणमा मृत्यु भएका पाँच जना नेपालीको शव नेपाल ल्याइएको छ। बाँकी पाँच नेपालीको शव पहिचान गर्न कठिन भएका कारण ल्याउन ढिला भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शवको पहिचान गर्न परिवारका सदस्यको डिएनए सङ्कलन गरेर बुधवार इजरायल पठाइएको मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए। ‘डिएनए सङ्कलन गरेर हिजो पठाइएको छ, भोलि इजरायलमा पुग्छ,’आरणले पहिचानसँग भने,‘शवको पहिचान भएपछि नेपाल ल्याएर परिवारलाई बुझाइनेछ।’

शवको पहिचान गर्ने प्रक्रिया पुरा भएका चार जनाको शव नेपाल ल्याएर परिवारले बुझिसकेका छन्। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको थियो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तले बुझेका हुन्।

क्षतविक्षत अवस्थामा रहेका मृतक पाँच नेपाली विद्यार्थीको शव पहिचान गर्न कठिन भए पछि परिवारको डिएनए सङ्कलन गरेर पठाउनु परेको मन्त्रालयले जनाएको छ।

शव ल्याउन बाँकी विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी छन्।

इजरायलबाट दिल्ली हुँदै आए १८ नेपाली

इजरायलबाट बिहीबार बिहान काठमाडौं ल्याइएको बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का गणेशकुमार नेपालीको शव घर पुर्‍याउन भने २ दिन लाग्ने भएको छ। हमासको आक्रमणमा परी मृत्यु भएका उनको शव १९ दिन पछि बिहीबार बिहान ७ बजे फ्लाई दुबईको विमानमार्फत काठमाडौँ ल्याइएको थियो।

यसअघि ४ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइए पनि गणेशको शव भने शव वाहनमै पठाइएको हो। बिहान ९ बजे काठमाडौँबाट हिँडेको शव वाहन शुक्रवार दिउँसो १/२ बजे पछि मात्र बझाङ आइपुग्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दश नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए।

सोही आक्रमणमा परेका कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन्। उनको खोजी जारी रहेको सहसचिव आरणले बताए। आक्रमणका प्रत्यक्षदर्शी विद्यार्थीहरूका अनुसार जोशी हमासको कब्जामा छन्। जोशीलाई सकुशल उद्धार गर्न सबै च्यानल प्रयोग गरिएको आरणले बताए।

इजरायलमा उद्धारका लागि अनुरोध गरेका सबै नेपाली नागरिकलाई स्वदेश ल्याइसकिएको उनले बताए। ‘अब उद्धार गर्नु पर्ने कोही छैनन्,सबैको उद्धार भइसकेको छ,’उनले भने,‘पाँच जनाको शव ल्याउने प्रयास भइरहेको छ,सम्पर्क विहीन जोशीको खोजी गर्न सबै च्यानल प्रयोग गरिएको छ।’

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading