काँग्रेसको चियापान : पार्टीकै शीर्ष नेताहरू अनुपस्थित, अन्तिममा पुगे शेखर

काँग्रेसको चियापान : पार्टीकै शीर्ष नेताहरू अनुपस्थित, अन्तिममा पुगे शेखर

काठमाडौं : नेपाली काँग्रेसको चियापान कार्यक्रममा पार्टीकै शीर्ष नेताहरू अनुपस्थित भएका छन्। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सहित राजनीतिक दलका नेता, कूटनीतिज्ञ, उद्योगी व्यवसायी लगायत सहभागी काँग्रेसको चियापानमा पार्टीकै शीर्ष नेताहरू अनुपस्थित भएका हुन्।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौला सहितका नेता चियापानमा सहभागी भएनन्। नेता शेखर कोइराला चियापान कार्यक्रम सम्पन्न हुनै लाग्दा मात्रै पुगे। बडादसैँ, तिहार र छठ पर्वका अवसरमा काँग्रेसले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीकै शीर्षस्थ नेताहरू अनुपस्थित रहे।

उपसभापति खड्कालाई जुठो परेको र महामन्त्री शर्मा अमेरिकामा रहेका कारण अनुपस्थित हुनु भएको काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कोइराला भने सभापति देउवाले साक्षात्कार गरिरहँदा अन्तिम समयमा आउनु भएको उनले बताए। ‘शेखर दाइ अन्तिम समयमा आइपुग्नु भयो, सायद फ्लाइट डिले भएर होला,’विश्वकर्माले भने,‘सिटौला सायद झापामा भएर होला आउनु भएन।’

बिपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक काँग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको छ। ०३३ साल पुस १६ गते बिपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए। त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए।

बिपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए। चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए।

सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। चियापानमा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रमुखहरू, सम्पादक, प्रकाशक एवं पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको सङ्घ–संस्थाका प्रमुखहरू लगायतका विशिष्ट महानुभावहरू, नेपाली काँग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूलाई काँग्रेसले निम्तो दिएको थियो।

तर, पार्टीकै शीर्ष नेताहरू भने चियापानमा उपस्थित भएनन्।

केन्द्रीय सदस्यदेखि महामन्त्री गगनकुमार थापाले उभिएरै स्वागत गरे। सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङले सोफामा बसेरै दुई हात जोड्दै आगन्तुकलाई स्वागत गरे।

काँग्रेसका अर्का नेता विजयकुमार गच्छेदार, अर्जुननरसिंह केसी र प्रकाशमान सिंह भने सभापति, उपसभापति भन्दा पछाडिको लाइनमा बसेर पाहुनाको स्वागत गरिरहेका थिए।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सँगसँगै पुगे भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड भन्दा अगाडि नै पुगेर फर्किए। प्रधानमन्त्री प्रचण्ड र नेपाल फर्किए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चियापानमा सहभागी भए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अमेरिका गएका कारण चियापानमा सहभागी भएनन्। पार्टीकै शीर्ष नेताहरू अनुपस्थित भए पनि सभापति शेरबहादुर देउवाले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको दाबी गरे।

काँग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने जिज्ञासामा देउवाले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको दाबी गरेका हुन्। राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको देउवाले बताए।

काँग्रेसले यो वर्षको चियापान व्यवस्थित बनाएको थियो। पार्टी कार्यालय सानेपाको पश्चिम गेटबाट प्रवेश गरेर पूर्वी गेटबाट बाहिरिने व्यवस्था गरिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.