प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं : राष्ट्रिय भावना मर्दै गएको छ। देशभक्ति खलबलिएको छ। अन्तर्राष्ट्रिय जगतसँग फाइट गर्नुपर्नेमा आफैआफैमा फाइट चलिरहेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चाहेको जस्तो भिडन्त टरे पनि पूर्वराजा नै सलबलाइ रहेका छन्। उनी ‘अरूले नै आन्दोलन गरेर राजगद्दीमा फर्कन’ दुई हात जोड्दै देशका विभिन्न ठाउँ घुमिरहेका छन्।

राजतन्त्र फर्काउन राजावादीहरू सक्रिय बनेका छन्। व्यवस्था बदल्न त्यति सजिलो भने छैन। वर्तमान संविधान भित्रै सबै ‘अपसन खुल्ला’ रहेकाले दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न नसकिने भने होइन। तर, दुई तिहाइ ल्याउन राजावादीहरूका लागि ‘फलामको चिउरा’ चपाउनु सरह नै छ।

जनतामा पुराना दलहरू प्रतिको आशा हराउँदै गएको ‘मौकामा चौका हान्न’ राजावादीहरूले झाल फ्याँकिरहेका छन्। २०५२ सालमा आफ्नै जनसरकार घोषणा गरेका सुप्रिमो कमान्डरले सरकारको कमान्ड सम्हाल्दाको बखत निराशा चुलिएको छ। विदेशी पर्यटक इतिहासकै धेरै, रेमिटेन्स इतिहासकै धेरै आएको तथ्याङ्कमा देखिएको छ। तर, व्यवहारमा ५० प्रतिशत सटर बन्द भएका छन्।

देशमा भन्दा विदेशमा भविष्य देख्ने जमात बढ्दै गएको छ। तमकझमक विदेशकै देखेका छन्। नेपालमा लाज मान्ने काम गर्न विदेश पुगेका छन्। कतिपय नेपाली शिक्षक विदेशका पेट्रोल पम्पमा काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै आँखा देखेका छन्। राजनीतिक दलहरू सत्ता जोगाउने र भत्काउने खेलमा लागिरहँदा वाक्कदिक्क भएर विदेश पुगेकाहरूले सरकारलाई धारे हात लगाउन छाडेका छैनन्।

उनीहरूले नै पठाएको रेमिट्यान्सका कारण अर्थतन्त्र केही हदसम्म चलायमान भएको छ। आफ्नो देशको उत्पादन आफ्नै देशभित्र नपुग्ने अवस्था छ। बाहिर बेच्ने त कुरै छाडौँ, उत्पादन भए पो।

छिमेकी देशहरू नेपाललाई प्रयोगशाला बनाउने प्रयासमा लागिरहेको सरकारसँग सूचना नभएको पनि होइन। छिमेकी देशका राजदूतले सरकारलाई आफू अनुकूल सुझाव दिइरहेका छन्। त्यस्ता राजदूतलाई फिर्ता पठाउन सक्ने हिम्मत सरकारले गर्न सकेको छैन।

संसद्को अङ्क गणितमा तेस्रो ठुलो दलले सरकारको नेतृत्व गरेको छ। सबैभन्दा ठुलो दलले समर्थन गरेको छ। दोस्रो र चौथो दल सरकारमा जान खुट्टा उचालेर बसेका छन्। गत पुसमा जस्तै प्रधानमन्त्रीमा बसिरहन दोस्रो ठुलो दलको समर्थन लिने अप्सन प्रचण्डले रोजिसकेका छैनन्। प्रधानमन्त्री प्रचण्डले भने,‘गठबन्धन इन्ट्याक छ।’

सरकार गठन भएको एक वर्ष पुरा हुँदैछ। गठबन्धनको सहमति अनुसार अब प्रचण्ड एक वर्ष प्रधानमन्त्रीको कुर्सीमा रहनेछन्। त्यसपछि प्रधानमन्त्री को बन्ने भनेर सरकारलाई समर्थन गरेको काँग्रेसमा छलफल चलिरहेको छ। शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने दिन कुरेर बस्दा दोस्रो ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन भत्काउने लागिरहेका छन्।

गठबन्धन जोगाउन मात्रै लाग्दा प्रचण्डले सामाजिक सञ्जालमा गाली खाइरहनु परेको छ। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा ‘यो काम ऐतिहासिक’ भनेर प्रचण्डले स्याबासी पाउने सपना मात्रै बनेको छ। कमजोर मन लिएर प्रधानमन्त्रीको कुर्सीमा बस्दा देश विकासको गति पनि सुस्त भएको छ।

सम्पादकहरूसँग प्रधानमन्त्री : सुरक्षा निकाय हाई अलर्टमै, टिकटक चलाउन दिने सङ्केत

पुराना नेताहरू सुस्त भए पछि व्यवस्था विरोधी गतिविधि सक्रिय बनेकोमा दुई मत छैन। अराजकता निम्त्याउने गतिविधि नियन्त्रण गर्न प्रचण्ड सबैको साथ सहयोग खोजिरहेका छन्। ‘हिजो भूमिगत हुँदा तपाईँहरू नै होइन गणतन्त्र ल्याउनु पर्छ भन्ने?,’विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने,‘हिजोको मिसन एउटै थियो भने आज किन फरक गर्नुहुन्छ?’

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामा प्रश्न गर्नेहरू बढेको देखेका छन् प्रचण्डले। ‘दलहरुबीच एउटै मत छ, धर्मनिरपेक्षताबारे काँग्रेसले पनि संविधान भन्दा बाहिर जान नसक्ने भनेको छ,’उनले भने,‘गठबन्धन र बाहिर पनि हामी एकमत छौँ।’ धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्र कायम गराउन भारतीय दबाब छ। विश्वको धेरै जनसङ्ख्या भएको देशले चाहँदैमा हुने होइन। तर, पनि दबाब भने दिइरहेको छ। नेपालका सरकारलाई अलमलाएर विकासमा पछि पार्ने रणनीति अनुसार विभिन्न कार्ड फ्याँक्न छिमेकीहरू लागिरहेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाबमा प्रचण्डलाई काम गरेर देखाउन सकस परेको छ। जनतामा सरकारले राम्रो काम गर्दैछ भन्ने सन्देश समेत गइरहेको छैन। सुरक्षा निकायलाई हाई अलर्टमा राखेर सर्वोच्च अदालत, सिंहदरबार, माइतीघरदेखि नयाँबानेश्वरसम्म जारी निषेधाज्ञा रिभ्यु गर्ने तयारी सरकारले गरेको छ।
प्रधानमन्त्री प्रचण्डले भने,‘नेगेटिभ धेरै भइरहेको छ। अर्थतन्त्रमा सानातिना सुधार देखिए पनि मूल कुरा अझै चिरिएको छैन।’

भारत, इटली, अमेरिका, चीन, दुबईको भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डलाई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको लागेको छ। सबको सहयोग जुटाउन् र कूटनैतिक सन्तुलन कायम गर्न भ्रमण फलदायी भएको प्रधानमन्त्रीको विश्वास छ। ‘नेपाल देखिएको छ, अलि सुनिएको छ’प्रधानमन्त्री प्रचण्डले भने।

सुशासनको कुरा गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरू सम्पत्ति विवरण भने हालसम्म सार्वजनिक भएको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख गरेको छ। तर, सार्वजनिक गरेको छैन।


प्रधानमन्त्री प्रचण्ड पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरामा बोलेका छैनन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन। अहिले पनि सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दासम्म सम्पत्ति विवरण गोप्य राखिएको छ। नारा सुशासनको दिने तर, काम आफ्नै सम्पत्ति विवरण गोप्य राखिएको छ।

मन्त्रीहरू र सचिवहरू लर्को लागेको विदेश भ्रमणमा गइरहेका छन्। देश आर्थिक सङ्कटमा भएको बेला फजुल खर्च बढिरहेको छ। प्रधानमन्त्री प्रचण्डले त्यसलाई पनि रोक्न सकेका छैनन्। ‘लर्को लागेर विदेश जाने क्रम अब रोकिन्छ’ प्रचण्डले भनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading