भूकम्प प्रभावितका लागि दक्षिण कोरियाले दियो ३ लाख अमेरिकी डलर

भूकम्प प्रभावितका लागि दक्षिण कोरियाले दियो ३ लाख अमेरिकी डलर

काठमाडौं : दक्षिण कोरियाले जाजरकोट भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) मार्फत दक्षिण कोरियाली सरकारले तीन लाख अमेरिकी डलर अर्थात् नेपाली ३ करोड ९८ लाख बराबरको रकम सहयोग गरेको हो।

यो रकम संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिनेछ। गत कार्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको थियो। कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएका छन्।

कोरियाले सन् २०१५ को नेपालको भूकम्प र कोभिड–१९ को महामारीलगायत चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्दै आएको जनाएको छ। ‘युएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध छ। यो प्रतिबद्धता नेपालसँग कोरियाको लामो समयदेखिको साझेदारीसँग मिल्दोजुल्दो छ, हामीले सन् २०२४ मा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउनेछौ,’नेपालका लागि दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले भने,‘अहिलेको यो सहयोगले भर्खरै गएको भूकम्पबाट प्रभावित समुदायको पुनः लाभमा सहयोग पुग्ने विश्वासका साथ कोरियाली जनता र सरकार नेपालको साथमा रहेको छ।’

गत कार्तिकको भूकम्पले महिला तथा किशोरीहरूलाई यौन र अन्य हिंसा, शोषण, र दुर्व्यवहारको उच्च जोखिममा पारेको छ। कतिपय स्वास्थ्य संस्थाहरूको भवनहरू नष्ट भएको र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीहरूको अभावले गर्दा स्वास्थ्य सेवाहरू अवरुद्ध भई विशेष गरी मातृ स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भएको छ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) की प्रतिनिधि वोन योंग होङले मानवीय सहयोग पुर्‍याउने अटल प्रतिबद्धताको लागि दक्षिण कोरियाको प्रशंसा गरिन्। ‘हामी दक्षिण कोरियाली सरकारको यो अमूल्य सहयोगको लागि धेरै आभारी छौँ। यो योगदानले प्रभावित महिला र किशोरीहरूलाई उनीहरूको सरसफाइ, महिनावारी स्वच्छता, र यौन र प्रजनन सम्बन्धी आवश्यकताहरूको सहयोग र सेवाहरू पुर्‍याउन युएनएफपीएलाई सक्षम बनाएको छ,’होङले भनिन्,‘उदारता र करुणाका यस्ता कार्यहरू एकता र मानवताका मूल सिद्धान्तहरूसँग प्रतिबिम्बित हुन्छन्, र यी कार्यहरूले दक्षिण कोरियाको विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने नेतृत्वलाई झल्काउँछ।’

युएनएफपीएको प्राथमिकता महिला र किशोरीहरूको अधिकार सुरक्षित गर्ने, सम्मानपूर्वक जन्म दिने, र हिंसामुक्त जीवन जिउने अधिकारको सुनिश्चित गर्नु रहेको जनाएको छ। दक्षिण कोरियाको सहयोगमा, युएनएफपीएले आगामी तीन महिनामा ४०,००० भन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने, ५,००० न्यानो कपडा तथा सामग्री, २,००० डिग्निटी (मर्यादा) किट, र विभिन्न स्वास्थ्य किटका १४ वटा सेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण कार्य जारी राख्ने बताएको छ।

यी किटहरूमा अस्पताल र अन्य स्वास्थ्य सुविधाहरूमा आपत्कालीन हेरचाह र चिकित्सकीय व्यवस्थापन र परिवार नियोजन सामग्रीहरूको लागि आवश्यक चिकित्सा आपूर्तिहरू समावेश छन्।

युएनएफपीएले आगामी तीन महिनामा ४० हजार भन्दा बढी महिला तथा बालिकाहरूलाई सहयोग गर्ने जनाएको छ। जसमा न्यानो कपडा लगायत आपत्कालीन हेरचाह र चिकित्सकीय व्यवस्थापन र परिवार नियोजन सामग्रीहरू वितरण गरिनेछ।

यो रकम जाजरकोट र रुकुम पश्चिमका ५० भन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा विरुद्ध लड्ने सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न पनि प्रयोग गरिनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading