मन्त्री बदल्न प्रधानमन्त्रीको ताकेता, काँग्रेस बाधक नबन्ने

मन्त्री बदल्न प्रधानमन्त्रीको ताकेता, काँग्रेस बाधक नबन्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन्। सरकारको एक वर्षे उपलब्धि सार्वजनिक गर्दा बोलेकै शब्द प्रधानमन्त्री प्रचण्डले दोहोर्‍याएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके ठाउँ ओगटिरहन जरुरी नभएको बताए। ‘जनताको आशा बचाउन पनि हामीले गम्भीर रूपमा काम गर्नुपर्छ। यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला,’प्रधानमन्त्री प्रचण्डले भने,‘हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरुरी छैन, यसमा प्रस्ट हुनुहोला।’

प्रधानमन्त्री प्रचण्डले बिहीबार नै प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेका छन्। प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ कर्मचारीको दरबन्दी खारेज गर्दै सरुवा गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारकी प्रवक्ता एवं सन्चारमन्त्री रेखा शर्माले जानकारी दिइन।

दरबन्दी कटौती गरे पनि काम नगर्ने मन्त्री हटाउन भने प्रधानमन्त्री प्रचण्डलाई समय लाग्ने देखिएको छ। मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा सहमति हुन नसकेको उनले सङ्केत गरेका छन्।

मन्त्री फेर्न बाधक नबन्ने

नेपाली काँग्रेस सहभागी प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ। सङ्घीय सरकारमा काँग्रेसका नौ जना मन्त्री छन्। पार्टीबाट मन्त्री भएकाहरूको कामकारबाहीबारे समीक्षा गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बिहीबारदेखि सुरु भएको छ।

बैठकमा सात महिनामा ५ पटक विदेश भ्रमण गरेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आठ सय डाक्टरहरूको काज फिर्ता गर्दा दुर्गममा मानिसले सेवा पाउने अवस्था बनेको सुनाएका छन्।

मन्त्री बस्नेतले सम्हालेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीका १७८ वटा विदेश भ्रमण स्वीकृत भएका छन्। यी भ्रमणमा मन्त्रालय अन्तर्गतका उच्च तहदेखि तल्लो तहसम्मका ४ सयभन्दा बढी कर्मचारी सहभागी भएका पाइएको छ।

मन्त्रीहरू बदल्ने सङ्केत : गृहमा काँग्रेस, नारायणकाजीलाई परराष्ट्र!

काँग्रेसबाट मन्त्री बनेका बाँकी ८ जनाले शुक्रवार बस्ने केन्द्रीय समितिको बैठकमा लिखित रूपमा प्रस्तुति दिने छन्। बैठक पछि काँग्रेस नेता शशाङ्क कोइरालाले मन्त्री परिवर्तन गरेर राम्रो काम हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए पनि काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीलाई मन्त्री फेर्न काँग्रेस बाधक नबन्ने बताएका छन्।

काँग्रेस बैठकमा चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउन नहुने माग समेत भएको छ। चुनाव हारेकालाई उम्मेदवार बनाउने चर्चा चलिरहेका बेला काँग्रेस बैठकमा त्यस्तालाई उम्मेदवार नबनाउन माग भएको हो। बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरूले पार्टी सभापतिलाई दबाब दिए।

बैठकमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका काँग्रेसले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.