प्रधानमन्त्रीलाई ‘काम नगर्ने मन्त्री’ हटाउन चुनौती

प्रधानमन्त्रीलाई ‘काम नगर्ने मन्त्री’ हटाउन चुनौती

काठमाडौं : सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गरेको छ। नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुरा भएको छ।

प्रधानमन्त्री प्रचण्डले ‘सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन’ भनेका छन्। नेपाली काँग्रेसले समेत विश्वासको मत दिए पछि तुष राखेको एमालेले अन्ततः राष्ट्रपति निर्वाचनमा धोका पाए पछि समर्थन फिर्ता लियो।

काँग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भयो। सरकारमा काँग्रेसबाट पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले एक वर्ष पुरा गरिसकेका छैनन्।

गत वर्ष फागुन २९ गतेदेखि काँग्रेस परित्याग गरेर राष्ट्रपतिमा रामचन्द्र पौडेलले कार्यभार सम्हालेका छन्। ६ चैतमा उपराष्ट्रपति पदको कार्यभार रामसहाय प्रसाद यादवले सम्हाले।

राष्ट्रपति पौडेलले १७ चैतमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरे। काँग्रेसबाट उपप्रधान एवं रक्षा मन्त्रीमा उपसभापति खड्का नियुक्त भए भने पार्टी महामन्त्रीमा चुनाव हारेका प्रकाशशरण महत अर्थमन्त्री बने।

काँग्रेसबाट पहिलो मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी रमेश रिजाल र काँग्रेसमा प्रत्यक्षबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एक मात्र महिला सिता गुरुङ शहरी विकास मन्त्री बनिन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे समीक्षा सार्वजनिक गर्दै चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गरेका छन्। ‘अब सरकारको कार्यशैली बदलिनेछ’ प्रचण्डले भनेका छन्। उनले केही पूर्व निर्धारित र अपरिहार्य बाहेक बाहिरका कुनै पनि कार्यक्रममा नजाने घोषणा पनि गरे।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले भने ‘प्रधानमन्त्रीले काम नगर्ने अनि दोष मन्त्रीलाई दिने?’ जवाफ पार्टी केन्द्रीय समितिको बैठकमा दिएका छन्। प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्ने मन्त्रीलाई हटाउने सङ्केत गरेका छन्। काँग्रेसले बाधक नबन्ने भनेको छ। यसका लागि प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउनु पर्ने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भनेका छन्।

मन्त्री बदल्न प्रधानमन्त्रीको ताकेता

काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले ‘सरकारमा गएका साथीहरूले जनताको मन जित्ने के काम गरे? कमसेकम महिनाको एउटाको दरले नै सही जनताको भात–भान्सालाई सहयोग पुग्ने गरी के गरियो, जानकारी चाहियो’ भनेका छन्।

काँग्रेसका मन्त्रीहरूले पार्टीमा रिपोर्ट कार्ड प्रस्तुत गर्दै आफूले सम्हालेका मन्त्रालयहरूबाट राम्रो काम भएको दाबी प्रस्तुत गरेका छन्। आर्थिक वृद्धि खुम्चिएर १।८६५ पुगेको अवस्थामा अर्थ मन्त्रालय सम्हालेका महतले आर्थिक वृद्धि ५ प्रतिशत भन्दा माथि रहने अनुमान सुनाएका छन्।

अर्थमन्त्री महतले राजश्व सङ्कलन २०८० मङ्सिर मसान्तसम्म ११.१८ प्रतिशतले वृद्धि भएको पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेका छन्। ‘आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट सङ्केत देखिन्छ’मन्त्री महतले सुनाएका छन्।

विदेशी विनिमय सञ्चिति ३६।१ प्रतिशतले बढेको उल्लेख गर्दै अर्थमन्त्री महतले यसबाट समग्र बाह्य क्षेत्र स्थिरता कायम हुनुको साथै यस क्षेत्र थप सबल र सुदृढ समेत हुँदै गएको दाबी गरेका छन्।

अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको सुनाउँदै जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको दाबी गरेका छन्। ‘वैदेशिक सहायतालाई उत्पादनमूलक क्षेत्र, पूर्वाधार निर्माण र मानव पुँजी निर्माणमा लगानी गरिएको छ’उनले भनेका छन्।

उनले सरकारको खर्च गत आर्थिक वर्षको तुलनामा ४.१ प्रतिशतले बढेर ४ खर्ब ५३ अर्ब भएको जानकारी पार्टी बैठकमा सुनाए। चालु वर्षको कार्तिक महिनासम्ममा ३ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ।

चालु वर्ष करिब ९ सय मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडिने मन्त्री महतले बताए। उनले आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी सुरु गरेको बताए।

अहिले देखिनै बजेट तर्जुमाको लागि तयारी थाली सकिएको बताउँदै अर्थमन्त्री महतले गुनासो गर्ने नेता कार्यकर्तालाई शान्त पार्न गत आर्थिक वर्ष बजेटमा छुटेका सुधार प्रयासलाई आगामी वर्षको बजेटमा समावेश गरी अघि बढाइने भनेका छन्।

काँग्रेसका मन्त्रीहरूले राम्रो काम गरेको दाबी प्रस्तुत गर्दै प्रधानमन्त्रीको ‘काम नगर्ने मन्त्री हटाउने’ तयारीलाई चुनौती दिएका छन्। पार्टीबाट आफूहरू नै मन्त्रीमा रहिरहनु पर्ने जिकिर समेत गरे उनीहरूले।

तर, देशका युवा भने रोजगारीका लागि विदेश जान मरिहत्ते गरिरहेका छन्। कोरिया रोजगारीमा जाने आवेदन फारम भर्ने विवादमा दुई जना युवाले ज्यानै गुमाए। इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने अछाम चौरपाटी गाउँपालिका वडा नं १ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका वडा नं ६ का २३ वर्षीय सुजन राउतले ज्यान गुमाउनु पर्‍यो।

देशको अवस्था रोजगारीका लागि विदेश जानु पर्ने छ। तर, प्रधानमन्त्री र मन्त्रीहरू भने आफूले जस्तो राम्रो काम कसैले गर्न नसक्ने हुङ्कार दिइरहेका छन्।

बालकुमारी घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक बोधराज दनुवार निलम्बनमा परेका छन्। इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गर्ने निर्णय सरकारले गरेको छ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गर्ने निर्णय गरेको जनाएको छ।

बालकुमारी घटनाले सरकारलाई लज्जित बनाएको छ। स्वदेशमा रोजगारी दिन नसक्ने सरकारको चौतर्फी आलोचना भइरहेको छ। युवाहरूको आक्रोश शान्त पार्न गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर सबै नागरिकहरूले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको उल्लेख गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.