ताइवानबारे विवादास्पद अभिव्यक्ति

ताइवानबारे विवादास्पद अभिव्यक्ति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताइवानबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। ताइवानबारे दुई ठुला शक्ति राष्ट्र अमेरिका र चीनबीच द्वन्द्व चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको विवादास्पद अभिव्यक्ति दिएका हुन्।

आइतबार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताए। ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा समेत उल्लेख गरेको उनले बताए।

‘हामीले असल मित्रका रूपमा एक अर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ। ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ। मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ।’

उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए। प्रधानमन्त्री प्रचण्डले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए।

प्रधानमन्त्री प्रचण्डका यस्तै विवादास्पद अभिव्यक्ति प्रतिपक्षी दल नेकपा एमालेका लागि विरोध गर्ने मसला बन्ने गरेका छन्। एमालेले नेपाल विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रूपमा प्रयोग गर्ने प्रयास हुँदा अहिलेको सरकार गोटी बनेको आरोप लगाएको छ।

एमाले महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रूपमा बढेको आरोप लगाए।

पछिल्लो समय एसिया महादेश विश्व अर्थ व्यवस्थामा अगाडि बढ्न थालेको चिन्ताबाट युरोपियन देश एसिया भित्र द्वन्द्व सृजना गर्न लागेको र एसियाका दुई ठुला शक्तिशाली राष्ट्र चिन र भारत मिल्न नदिन नेपाल भूमिको प्रयोग गर्न खोजेको उनले सुनाए।

अहिलेका प्रधानमन्त्री विदेश भ्रमण जाँदा देशको हितमा भन्दा पनि अहितमा केही भइहाल्छ कि भन्ने चिन्ता जनमानसमा रहेको उनले बताए। भारतीय दूतावासले २० करोडसम्म खर्च गर्न दिने कुरा उचित नभएको तर्क उनले गरे।

प्रधानमन्त्री युगान्डा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आउँदो माघ ४ गते युगान्डा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो। शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन्।

शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा छोरी गङ्गा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन्।

प्रधानमन्त्री प्रचण्डले माघ ५ गते शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। शिखर सम्मेलनअघि माघ ३ र ४ गते मन्त्रिस्तरीय बैठक बस्नेछ।

शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन्। साउद माघ २ गते युगान्डा प्रस्थान गर्ने कार्यक्रम छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading