राष्ट्रपतिको माघी भेला : प्रचण्डलाई हतार, ओली अनुपस्थित

राष्ट्रपतिको माघी भेला : प्रचण्डलाई हतार, ओली अनुपस्थित

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताएका छन्। सङ्घीय संसद्मा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन उनले आग्रह गरेका छन्।

माघी पर्वको उपलक्ष्यमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौँ भन्ने प्रण गर्न आग्रह गरे। उनले ‘संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ’ भनेका छन्। नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको उनले सुनाए।

राष्ट्रपति पौडेलले माघी पर्वमा शीतल निवास बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए। अधिकांश शीर्ष नेताहरू शीतल निवास पुगे पनि एमाले अध्यक्ष ओलीलाई नदेखेपछि राष्ट्रपति पौडेलले केही समय सोधी खोजी गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने शुभकामना आदानप्रदान गरेर हतार हतारमै अर्घाखाँची तिर लागे। बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको पानी वितरणको पुनः शुभारम्भ गरेका प्रधानमन्त्री प्रचण्ड दिनभर उद्घाटन र शिलान्यासमा व्यस्त बने।

सिंहदरबारबाट शीतल निवास हुँदै पत्रकार महासङ्घ अर्घाखाँचीको कार्यक्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले जनतालाई अधिकार सम्पन्न गराउने एक मात्र लक्ष्य आफू बाहेक अरूले पुरा गर्न नसक्ने दाबी गरे।

हरेक दिन १० बजे नै कार्यालय पुगेर सबै मन्त्रालयको ब्रिफिङ लिँदै टार्गेट दिने गरेको उनले सुनाए। अतिआबश्यक र पूर्वनिर्धारित बाहेकका कार्यक्रममा नजाने आफ्नै प्रतिबद्धता लत्त्याउँदै दैनिक उद्घाटन, शिलान्यास, बैठक, सभा सम्मेलनमा पुगिरहेका प्रचण्डले आफूले दिएको लक्ष्य पुरा नगर्ने मन्त्री हेरफेर गर्ने पुरानो प्रतिबद्धता दोहोर्‍याए।

प्रदेशलाई बलियो बनाउन प्रदेश प्रहरी ऐन, सङ्घीय निजामती ऐन, शिक्षा ऐन आफू बाहेक अरूको नेतृत्वमा नबन्ने समेत प्रधानमन्त्री प्रचण्डले दाबी गरे। अरूको नेतृत्व आए यी ऐन नबन्ने डर आफूमा रहेको उनले सुनाए।

सोमबार मात्रै चार वटा औपचारिक कार्यक्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले नेपाल मगर सङ्घले माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा भने आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताए।

पुस मसान्तसम्ममा ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको तथ्याङ्क सार्वजनिक भइरहँदा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा नयाँ रेकर्डहरू बनेको दाबी पनि गरे।

अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको दाबी प्रधानमन्त्रीले सुनाए पनि सरकारको आम्दानीको तुलनामा खर्चको अनुपात भने निकै बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको हो।

सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ। कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ। यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading