सरकारका मन्त्री : काममा जिरो, गफमा हिरो

सरकारका मन्त्री : काममा जिरो, गफमा हिरो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जिम्मेवारी पाएर कायम रहेका मन्त्रीहरूको कार्यकाल एक वर्ष पुगेको छ। गत वर्ष पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रो पटक माघ ३ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए।

त्यति बेलाको गठबन्धन फेरिए पछि मन्त्री प्रचण्डकै पार्टी नेकपा माओवादी केन्द्र र केही मन्त्री मात्र हालसम्म यथावत् छन्। तीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बुधवार र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार आफूले एक वर्षे कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गरेकी छन्।

सरकारकी प्रवक्तासमेत रहेकी शर्माले करिब आधा घण्टा लामो सम्बोधनमा आफ्ना कामभन्दा धेरै प्रधानमन्त्री प्रचण्डको निर्देशन र भनाइहरू उल्लेख गरिन। उनले प्रधानमन्त्रीको जस्तै धेरै काम गर्न बाँकी रहेको सुनाइन।

शर्मासँगै मन्त्री बनेका पर्यटन मन्त्री किरातीले बुधवार आफूले नेपाल वायु सेवा निगमलाई गर्भ गर्न लायक बनाउने अठोट गरेको उल्लेख गरेका थिए।

तर किराती मन्त्री बनेदेखि निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवाद चर्किएको छ। प्राधिकरणका महानिर्देशकलाई दुई पटक स्पष्टीकरण सोधे पनि मन्त्री किराती कारबाही नगरी निरीह बनेका छन्।

सरकारका मन्त्रीहरू काममा जिरो गफमा हिरो देखिएका छन्। सरकारका गृहमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, कानुनमन्त्री, पर्यटनमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, कृषिमन्त्री, भौतिक पूर्वाधारमन्त्री काममा जिरो गफमा हिरो देखिएका हुन्।

संसद् छलेर अध्यादेश, प्रतिबद्धता भुल्दै प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का काम देखाउन लागेका छन्। खड्काले सुरक्षा निकायका प्रमुखहरूसँग राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन उपप्रधानमन्त्री खड्काले निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बुधवार मात्रै बालुवाटारबाट तीन वटा निर्देशन दिएका थिए। बिहीबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले निर्देशन दिए।

पार्टी नेतृत्वले सरकारबाटै बाहिरिने चेतावनी दिइरहेका बेला कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका डा. वेदुराम भुसाल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सार्वजनिक कार्यक्रममा भाषण गर्नमै व्यस्त देखिएका छन्।

यसअघि सरकारले रासायनिक मल ल्याउन आवश्यक तयारी गरिरहेको बताउने गरेका मन्त्री भुसालले बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रममा पृथ्वीमातालाई जोगाउन रासायनिक मलको प्रयोग घटाउनुपर्ने तर्क गरे।

राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार मन्त्री ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको पुरानै रेडिमेट जवाफ दिए। दुर्घटनामा धेरैले ज्यान गुमाएपछि समिति नै बनाएका मन्त्री ज्वालाले निरन्तर अनुगमनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको दाबी गरे।

अहिले जताततै सडक निर्माण अलपत्र अवस्थामा हुँदा समस्या देखिएको र सरकारले पर्याप्त बजेट पनि दिन नसकेकाले अब त्यता ध्यान दिने मन्त्री ज्वालाले बताए।

मन्त्रीद्धय ज्वाला र भुसाल मात्र होइन ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पनि एउटै कुरा आफू पुगेका कार्यक्रममा सुनाउने गरेका छन्।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पुरानै भाषण दोहोर्‍याए पछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारका मन्त्रीलाई अब धेरै बकबक नगर्न सुझाव दिएका छन्।

अहिलेको मन्त्रिपरिषद्मा केही मन्त्री बदनाम र केही गुमनाम छन्। भाषणमा प्रधानमन्त्रीलाई पछ्याइरहेका मन्त्री र आम जनताले नामै थाहा नपाउने मन्त्री पनि उत्तिकै छन्।

तर, प्रधानमन्त्री प्रचण्ड गएराति युगान्डा गए पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्।

पार्टी निकट नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचार र तस्करीको संरक्षक भएको आरोप लगाए। बिपी कोइरालाले तत्कालीन राजासँग घाँटी जोडिएको भनेकोतर्फ सङ्केत गर्दै ओलीले अहिलेको गठबन्धनमा रहेको दलहरूको वंश पनि एउटै भएको दाबी गरे।

गठबन्धनका कुनै पनि दलले निर्वाचनमा एमालेसँग एक्लै भिड्ने आँट गर्न नसक्ने भन्दै ओलीले सरकार अहिले बुख्याचाजस्तो भएको टिप्पणी गरे। आफूहरू मिसन ८४ मा रहे पनि त्यसअघि नै सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने अवस्था आउन सक्ने सङ्केत गर्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई ओलीले निर्देशन दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading