कीर्तिपुरमा नीलो फूल : तेस्रोलिंगी भन्दा नराम्रो हुँदैन

कीर्तिपुरमा नीलो फूल : तेस्रोलिंगी भन्दा नराम्रो हुँदैन

काठमाडौं : काठमाडौं कीर्तिपुरमा यस्ता तेस्रोलिंगी छन्, जो बच्चाका अभिभावक समेत हुन्। दीपक महर्जन हनि र तीर्थमान शाक्य तेस्रोलिंगी भएकै कारण विभेद, दुर्व्यवहार भोग्न बाध्य बने। दुबैका सन्तान छन्।

तेस्रोलिंगी भएकै कारण समाजमा लाञ्छना र भेदभावमा परेका उनीहरूले आफ्ना सन्तानलाई शिक्षा लिन पाउने अधिकारबाट वञ्चित नगराउन आग्रह गर्दै आएका छन्। तेस्रोलिंगीको सन्तान भनेर विद्यालय शिक्षाबाट विमुख हुनुपर्ने अवस्था आएपछि अहिले उनीहरू तेस्रोलिंगी नागरिकका सन्तानको शिक्षामा हुँदै आएको विभेद अन्त्य गर्ने अभियानमा लागेका छन्।

एकातिर तेस्रोलिंगी हुनुको पीडामा छन् भने अर्कोतिर आफ्ना सन्तानले शिक्षाबाट विमुख हुनुपर्ने अवस्थाले चिन्तित छन् हनि र तीर्थ। उनीहरूले आफूले जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर संस्थागत अभियान चलाएका हुन्। समर्पण सभ्य समाज नेपालले आइतबार इच्छा विपरीत विवाह गर्दा परेको समस्याबारे निर्माण भएको लघु कथानक चलचित्र नीलो फुल प्रदर्शन गरेको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारमा काम गर्दै आएको समाजले कीर्तिपुर नगरपालिकाको सहयोगमा सञ्चालन गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले समुदायका नागरिकको अधिकारमा हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन्।

एसियाका पहिलो समलिङ्गी सभासद् एवं पिंक टुरिजम एम्बेसडर सुनिलबाबु पन्तद्वारा निर्माण गरिएको चलचित्र नीलो फूलले समाजमा भइरहेको जबरजस्ती विवाहलाई उजागर गरेको सहभागीहरूले बताए। ‘समाजमा अहिले पनि मन नपरेको व्यक्तिसँग जबरजस्ती विवाह गराइदिने चलन छ, यसले परिवारमा राम्रो वातावरण बन्न सक्दैन,’सहभागीहरूले भने, ‘जबरजस्ती विवाह रोक्ने अभियानमा हामी सबैको साथ सहयोग रहन्छ।’

चलचित्र प्रदर्शन पछि पन्तले अहिले पनि समाजमा समलिङ्गी तेस्रोलिंगीलाई जबरजस्ती विवाह गराइदिने गरिएको सुनाए। ‘जबरजस्ती विवाह रोकिनु पर्छ,’पन्तले भने, ‘अझ तेस्रोलिंगीका सन्तानले विद्यालयमा पनि विभेद भोग्नु परेको छ।’

पन्तले समलिङ्गी तेस्रोलिंगीको सन्तान शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर समर्पण सभ्य समाजले देश व्यापी अभियान चलाउने अपेक्षा आफूले राखेको बताए।

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले चलचित्र नीलो फूलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक जीवनमा आधारित कथा व्यक्त गरेको बताए।

समर्पण सभ्य समाज नेपालले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा एक दिने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको अध्यक्ष तीर्थमान शाक्यले बताए।

कार्यक्रममा सहभागीहरूले तेस्रोलिंगी भन्न हुने नहुनेबारे जिज्ञासा राखेका थिए। समाजका स्वयंसेवक नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्नाले समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी व्यक्तिहरूलाई बुझाउने जानकारी दिए।

पुरुष वा महिला भन्दा भिन्न पहिचानमा चिनाउन चाहनेहरू एलजीबीटीआईभित्र पर्ने उनले बताए। समाजका सचिव हनि महर्जनले तेसोलिंगगीलाई तेस्रोलिंगी भन्दा नराम्रो नहुने बताए। ‘तेस्रोलिंगीलाई तेस्रोलिंगी भन्न हिचकिचाउँदिन,’उनले भने, ‘यो कर्मले पाएको हो। आफूले आफैँलाई गर्व गर्नुपर्ने हुन्छ। नभए भोलि आएर पछुताउनु पर्ने हुन्छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समाज, परिवार र राज्यले बुझ्नु पर्ने उनले बताए। बुझेर पनि नबुझेको जस्तो गर्दा समुदायका कतिपय व्यक्ति आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उनले सुनाए। उनले आफूलाई नहेप्न र अरू सरह बाच्न पाउने अधिकारबाट वञ्चित नगर्न आग्रह गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading