भिजिट भिसामा पुग्ने, वर्किङ भिसामा बस्ने

भिजिट भिसामा पुग्ने, वर्किङ भिसामा बस्ने

काठमाडौं : स्वदेशमा रोजगारीका अवसर प्राय शून्य छ। रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढेको छ। दैनिक २ हजार भन्दा बढी नेपाली नागरिकले विदेश यात्रा गरेको तथ्याङ्क विमानस्थल अध्यागमन कार्यालयले दिएको छ।

सरकार आन्तरिक रोजगारी सिर्जना गर्न सकिरहेको छैन। सबैभन्दा धेरै रोजगारी दिएको लोक सेवा आयोगमा दरखास्त दिनेहरूको भिड लाग्ने गरेको छ। निजी क्षेत्रका श्रमिक उचित ज्याला पाउन सकिरहेका छैन।

मर्यादित कामको कुरा मात्रै भइरहेको छ। संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष योगेन्द्र कुँवर देशभर १८ लाख श्रमिक ट्रेड युनियनहरूमा आबद्ध भएको दाबी गर्छन्। श्रम मन्त्री शरद सिंह भण्डारी आन्तरिक रोजगारी सिर्जना दशकको तयारीमा रहेको सुनाउँछन्।

सरकारको चालु खर्च १२ खर्ब हाराहारी छ। वार्षिक बजेटको एक तिहाइ बजेट पनि विकास निर्माणमा खर्च हुँदैन। चालु वर्षका लागि १७ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँको बजेट कार्यान्वयन गर्न स्रोतको कमी देखिएको सरकार स्वयंले स्वीकार गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ नयाँ योजना थपिँदै जाने र स्रोतको जोहो हुन नसक्दा बेथिति देखिने गरेको बताउँछन्। सरकार आउँदो आर्थिक वर्षको बजेट निर्माणको तयारीमा रहँदा प्रधानमन्त्रीले पुराना आयोजनाहरूलाई नै प्राथमिकतामा राख्न भनेका छन्।

सरकार बजेटमा अङ्क मात्रै थप्ने तयारीमा देखिएको छ। राष्ट्रिय योजना आयोगले तयार गरेको १६ औँ पञ्चवर्षीय योजनामा ८१ खर्बको बजेट प्रस्ताव गरेको छ। यो अङ्कले पनि अबको पाँच वर्ष सरकारले सार्वजनिक गर्ने हरेक वर्षको बजेटको आकार अनुमान लगाउन सकिन्छ।

रोजगारी सिर्जनाको नारा मात्रै लगाउने सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई स्वदेशमा अड्याउन सकेको छैन। घुम्न भनेर गएकाहरू समेत विदेशको काममा लागिरहेका छन्।

एउटा देशमा जान्छु भनेर नेपालको नीति विपरीत अर्को देश पुग्ने र समस्या परे पछि मात्रै थाहा पाउने अवस्था विद्यमान छ। विदेशी सेनामा भर्न हुन नपाउने नेपालको नीति विपरीत रुस र युक्रेनको सेनामा भर्ना भएर मार्न र मर्न लागेका छन्।

नेपाली सेना, नेपाल प्रहरीको जागिर छोडेकाहरू समेत रुसी सेनामा पुगेर ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ। सशस्त्र द्वन्द्व चलाएको तत्कालिन माओवादीको दबाबमा नेपाली सेनाको जागिर छाडेका रसुवाको नौकुण्ड गाउँपालिकाका सुन्दर मोक्तानको रुस र युक्रेन युद्धमा मृत्यु भएको छ।

देशमा राजनीतिक क्रान्ति मात्रै भयो। जीविकोपार्जनका लागि विदेश हानिनु पर्ने अवस्था आयो। आर्थिक क्रान्ति केही नेताको नारा मात्रै बन्यो। मोक्तान रोजगारीका लागि क्रोएसिया हुँदै रुस पुगे। युद्धमा होमिए। उनको सपना बन्दुकको गोलीले विलय भयो।

रुस र युक्रेनको सेनामा भर्ना भएका नेपालीको सङ्ख्या यकिन भने छैन। मृत्यु भएका नेपालीको शव ल्याउन समेत सरकारले सकिरहेको छैन। परराष्ट्र मन्त्रालयको पहल कामयाबी हुन सकेको छैन।

ज्यानकै बाजी थापेर नेपाली युवा विदेश घुम्ने बहानामा समेत युद्धग्रस्त मुलुक जान थाले पछि आज (बुधवार)देखि लागू हुने गरी अध्यागमन विभागले ट्राभल एड्भाइजरी जारी गरेको छ।

अध्यागमन विभागले यात्रा परामर्श जारी गरेर भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र भएको बताएको छ।

पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्रै भएको विभागले प्रस्ट पारेको छ।

विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको उल्लेख गरेको छ। ‘यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ,’विभागले जारी गरेको यात्रा परामर्श सम्बन्धी सूचनामा लेखिएको छ,‘तसर्थ, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने आफन्त भेट्ने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्कनुहोस्।’

विभागले भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन भनेको छ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुट्टा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न थप सजगता अपनाउनु हुन विभागले जारी गरेको सूचनामा लेखिएको छ।

श्रम गन्तव्य कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइन जस्ता देशमा बिचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएभन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असङ्गठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकाले भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न विभागले आग्रह गरेको छ।

विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका नेपाली यात्रीहरूलाई विभागले असामान्य परिस्थिति बाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन आग्रह गरेको छ। ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वः घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ,’विभागले भनेको छ,‘विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नुहोस्।’

यात्रा परामर्स

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.