राष्ट्रिय सभा चुनाव : माओवादीलाई धोका, राप्रपा रित्तै

राष्ट्रिय सभा चुनाव : माओवादीलाई धोका, राप्रपा रित्तै

काठमाडौं : राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र नेकपा एमालेका एक सदस्य निर्वाचित भएका छन्। कोशी प्रदेश बाहेक ६ वटै प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ।

गठबन्धनले जितेको १८ सिटमा काँग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना छन्। नेपाल एमालेले एक सदस्य जितेर साख जोगाएको छ। गत वर्ष सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा भने पहिलो स्थानमा पुगेको छ।

राष्ट्रिय सभामा पहिलो दल एमाले तेस्रो दल बन्न पुगेको छ भने काँग्रेस दोस्रो दल बनेको छ। बिहीबार निर्वाचित १९ सदस्यको पदावधि ६ वर्षको हुनेछ। कोशी प्रदेशमा सत्ता गठबन्धनले फ्लोर क्रस गर्दा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन्।

राष्ट्रिय सभा अध्यक्षको बन्ने चर्चा भएका काँग्रेसका कृष्ण सिटौला राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका छन्। निर्वाचित भएसँगै सिटौलाको सत्ता शक्तिमा पुनरागमन भएको छ। प्रतिनिधि सभा निर्वाचनमा दुई पटकसम्म निरन्तर पराजित भए पछि सजिलो बाटो रोजेका सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएर संसद् प्रवेश गर्ने भएका छन्।

सिटौलालाई पराजित गर्न एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका नेता उद्धव पौडेल पराजित भए। कोशी प्रदेशमा एमालेले साख जोगाएको छ भने सिटौला निर्वाचित हुँदा राप्रपा रित्तै भएको छ। राप्रपाले एमालेबाट धोका पाएको बताएको छ।

माओवादीकी चम्पादेवी कार्की पराजित हुँदा सत्ता गठबन्धनमा धक्का लागेको छ। माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशीमा काँग्रेसले फ्लोर क्रस गरेर एमालेलाई मत दिएकोमा आपत्ति जनाएका छन्।

काँग्रेससँगको सहकार्यले धेरै गुमाएको तर केही नपाएको भन्दै उनले आवश्यक छलफल गरेर निर्णय लिइने बताए। उनले गठबन्धन भङ्ग पनि हुन सक्ने सङ्केत गरे।

मधेस प्रदेशको दुई पदमा काँग्रेसका आनन्द ढुङ्गाना र महिलातर्फ जसपाका पूजा चौधरी निर्वाचित भए। बागमतीमा गठबन्धनका महिलातर्फ काँग्रेसका विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, अन्यतर्फ काँग्रेसका जितजंग बस्नेत र अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए।

विद्यार्थी राजनीति हुँदै तरुण दलको अध्यक्षबाट पार्टी राजनीतिमा प्रवेश गरेका काँग्रेसका जितजंग बस्नेतले राष्ट्रियसभालाई गर्भ गर्न लायक बनाउन भूमिका खेल्ने बताएका छन्।

गण्डकी प्रदेशमा काँग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भएका छन्। लुम्बिनीमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी सापको र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्।

कर्णालीमा अन्यतर्फ काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णु विक विकल्प निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशमा महिला तर्फ माओवादीकी रेणु चन्द, अपाङ्ग तर्फ काँग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा विजयी भएका छन्।

निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन आइतबारसम्म राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मतदान बहिष्कार

राष्ट्रिय सभाको चुनावमा १४ जनप्रतिनिधिले मतदान बहिष्कार गरेका छन्। काठमाडौँ, धरान र धनगढीमा निर्वाचित स्वतन्त्र मेयरसहित १४ जनाले मतदान नगरेका हुन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ र धनगढीका मेयर गोपाल हमालले मतदान गरेनन्।

कोशी प्रदेशमा पालिका प्रतिनिधि २७३ मध्ये धरानका मेयर साङपाङसहित दुई जनाले मतदान गरेनन्। मधेस प्रदेशमा प्रदेशसभाका अविराम शर्मा अनुपस्थित भए। उनी थमन विक हत्या प्रकरणमा फरार छन्।

बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ दुई जनाले पनि मतदान नगरेको निर्वाचन आयोगले जनाएको छ। गण्डकीमा प्रदेश सभातर्फको शतप्रतिशत मत खस्दा एक पालिका प्रतिनिधि भोट दिन गएनन्।

गण्डकीमा सहकारीमा आर्थिक कारोबार बिग्रेपछि सम्पर्कविहीन भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अनुपस्थित भएका हुन्। उनी अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा समस्या आएपछि गत जेठदेखि फरार छन्।

लुम्बिनी प्रदेशमा पनि पालिका प्रमुख उपप्रमुखतर्फ २ जनाले भोट नहालेका आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। सुदूरपश्चिममा तीन जना पालिका प्रतिनिधिबाहेकले भोट हालेका छन्।

कर्णाली प्रदेशमा भने प्रदेशसभा र पालिका प्रतिनिधितर्फ शतप्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार प्रदेशसभा तर्फका ५ सय ४९ जनामध्ये ५ सय ४६ जनाले भोट हालेका छन् भने पालिका प्रमुख उपप्रमुखहरू १४ सय ९७ मतदातामध्ये १४ सय ८६ जनाले मतदान गरेका छन्। मतदानमा ९९ दशमलव ३२ प्रतिशत भोट खसेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading