संसद्को सिफारिसमा राष्ट्रपति मौन, नेताहरू घोचपेच र जुहारीमा व्यस्त

संसद्को सिफारिसमा राष्ट्रपति मौन, नेताहरू घोचपेच र जुहारीमा व्यस्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को महासचिव नियुक्तिमा अनावश्यक चासो लिएको आरोप लागेको छ। नागरिकतामा उमेर घटाएपछि विवादमा परेका संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्त गर्ने संसद्को सिफारिस राष्ट्रपति पौडेलले रोकेर राखेका हुन्।

राष्ट्रपति पौडेलले महासचिव नियुक्तिको सिफारिस ‘न सदर, न बदर’ केही गरेका छैनन्। सङ्घीय संसद्को सिफारिसबारे राष्ट्रपति सोचिरहेका छन्। ‘सिफारिसमा केही प्रगति भएको छैन,’राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘उहाँ सोचिरहनु भएको छ के गर्ने भनेर।’

सरकारको सिफारिसमा माघ २२ गते दिउँसो ४ बजे सङ्घीय संसद्को अधिवेशन आव्हान गरेका राष्ट्रपति पौडेलले महासचिव नियुक्तिको सिफारिस रोकेर राख्दा सङ्घीय संसद् कार्यवाहक महासचिवकै भरमा सञ्चालन भइरहेको छ।

राष्ट्रपतिले रोके सिफारिस, तनावमा परे पाण्डेय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक नयाँ संसद् आइसकेपछि प्रमाणीकरण गर्ने राष्ट्रपति पौडेलले महासचिव नियुक्तिको सिफारिस गठबन्धन दलको इशारामा रोकेको आरोप समेत लागेको छ।

संविधान, कानुन अनुसार चल्नु पर्ने राष्ट्रपति पौडेल सत्ता गठबन्धनका शीर्ष नेताहरूको इशारामा चल्दा संसद्को अधिवेशन कार्यवाहक महासचिवकै भरमा सञ्चालन हुने देखिएको आरोप लागेको हो।

राष्ट्रपति पौडेलले सिफारिस पेण्डिङमा राख्दा कार्यवाहक महासचिवकै रूपमा पद्म प्रसाद पाण्डेयले अवकाश पाउने सम्भावना देखिएको संसद् सचिवालय स्रोतले बताएको छ।

२०८० मङ्सिर २४ गतेबाट लागू हुने गरी भरतराज गौतमले राजीनामा दिएपछि सङ्घीय संसद्को महासचिव पद रिक्त छ। गौतमको राजीनामासँगै प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियुक्तिका लागि सिफारिस गरेका थिए।

संविधानको धारा १०६ को उपधारा १ मा सङ्घीय संसद्को महासचिव पदमा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संयुक्त रूपमा सिफारिस गर्नुपर्ने प्रावधान छ।

सोही प्रावधान अनुसार प्रतिनिधि सभाका सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति समक्ष पाण्डेयको नाम सिफारिस गरेका हुन्। तर, राष्ट्रपति पौडेलले नागरिकता विवाद सार्वजनिक भए पछि महासचिवको नियुक्ति रोकेर राखेका छन्।

गठबन्धनमा घोचपेच

राष्ट्रियसभा निर्वाचनको परिणामलाई लिएर सत्ता गठबन्धनका नेताहरुबीच घोचपेच भएको छ। गठबन्धनले राष्ट्रियसभामा एक सिट गुमाएको विषयमा भएको छलफलमा नेताहरुबीच घोचपेच भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले परिणाम अप्रत्याशित र गम्भीर रहेको निष्कर्ष निकालेको काँग्रेस नेता रमेश लेखकले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले फ्लोर क्रस गर्दा आफ्ना उम्मेदवार पराजित भएको बताए। कोसी प्रदेशमा एमाले उम्मेदवार निर्वाचित भए पछि गठबन्धनमा गडबड देखिएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने यसमा थप छलफल गर्नुपर्ने जवाफ दिएका छन्। गठबन्धनले कोसीमा एक सिट गुमाएको विषयलाई गम्भीर रूपमा लिएको काँग्रेस नेता लेखकले जानकारी दिए।

राष्ट्रियसभाको परिणामले गठबन्धनको निरन्तरतामा भने प्रतिकूल असल नपार्ने उनले बताए। गठबन्धनका नेताहरूबीच यसबारे थप छलफल गर्ने सहमति भएको लेखकले जानकारी दिए।

सहिद घोषणालाई लिएर जुहारी

सहिद घोषणा र परिभाषालाई लिएर प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुबीच जुहारी चलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्व गरेको युद्धताका राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट मारिएकाहरूलाई भटाभट सहिदको मान्यता दिए पछि सत्तारुढ नेपाली काँग्रेसको संस्थापन इतर समूहले आपत्ति जनाएको छ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा घोषणा गरिएका सहिदहरूलाई मान्यता दिने काम पुरा हुन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सुरु गरेको तीन महिनामै गत फागुनको २९ गते ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित गरेका थिए।

माघ १३ गते एक कार्यक्रममा फेरि प्रधानमन्त्री प्रचण्डले यसअघि छुटेका करिब ३ हजारलाई मन्त्रिपरिषद्ले शहीद घोषणा गर्ने निर्णय गरिसकेर गृहले प्रमाणीकरण गरेको भन्दै छिटै राजपत्रमा प्रकाशित हुने बताए पछि काँग्रेसका नेता डा. शेखर कोइरालाले सहिद शब्दकै अपमान गरेको आरोप लगाएका छन्। कोइरालाले मङ्गलवार विराटनगरमा ‘समुदायमा काँग्रेस अभियान’को सुरुवात गर्दै शहीदको अवमूल्यन हुने काम सरकार प्रमुखबाटै भएको बताए।

यसअघि जनयुद्ध दिवसका दिन बिदा दिने सरकारी निर्णयको समेत विरोध गर्दै आएका कोइरालाले जति विरोध गरे पनि संस्थापन पक्ष मुखमा पानी हालेर बसेपछि प्रचण्डलाई एक पछि अर्को निर्णय गर्न बाधा परेको छैन।

कोइरालाले प्रतिपक्षी दलकै जस्तो गरी बोले पनि प्रचण्डपछि छैटौँ पटक प्रधानमन्त्री बन्न पालो कुरेर बसेका पार्टी सभापति शेरबहादुर देउवाले थाहा नपाएझैँ मौन बसेका छन्। त्यसैले प्रधानमन्त्री प्रचण्डले मङ्गलवार सहिद सप्ताहको अन्तिम दिन काठमाडौं महानगरपालिकाको संयोजनमा शहीद स्मारक लैनचौरमा आयोजित कार्यक्रममा आजको दिन क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताए।

माघ १० गतेदेखि ७ दिन प्रभातफेरी, स्मृति सभालगायतका कार्यक्रम गरेर शहीद सप्ताह मनाइएको छ। जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै विसं १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको सम्झनामा विसं २०१२ देखि नै शहीद सप्ताह मनाउन थालिएको हो।

माघ १० गते पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा तथा माला अर्पण तथा स्मृति सभा गरिएको थियो। त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले गोली हानेर मृत्युदण्ड दिएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading