१० वर्ष पुरानो जिप दुर्घटना, दुई भुटानीको मृत्यु

१० वर्ष पुरानो जिप दुर्घटना, दुई भुटानीको मृत्यु

422
SHARES

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दोरिङ्ग भन्ने भिरमा दुर्घटना हुँदा दुई भुटानी नागरिक ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

जिपमा सवार ७ मध्ये ६ जना भुटानी र एक जना नेपाली नागरिक थिए। गाउँपालिकाले घाइतेहरूलाई फिस्टेल एयरको हेलिकप्टर मार्फत ३ वटा उडानमा उपचारका लागि काठमाडौं पठाएको जनाएको छ।

हेलम्बुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको सल्लाहअनुरूप उनीहरूलाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो। भुटानी नागरिक ६५ वर्षीया गाची ,७४ वर्षीया हिसी, ४३ वर्षीय फछिरि र ५५ वर्षीया फुछिको टाउको, हातगोडामा गहिरो चोट लागेको छ।

बुधवार चार वटा जिपमा सवार भएर २९ जना भुटानी तिर्थालु पर्यटक मिलारेपाको दर्शनका लागि आएका थिए। मृतक २ जना भुटानी पर्यटकको शवलाई गाडी मार्फत शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि प्रहरी सहित पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिए।

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण गाउँपालिका भित्र १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उनले बताए। आगामी कार्यपालिकाको बैठकबाट १० वर्ष पुरानो गाडिलाई पर्यटक बोक्न नदिने निर्णय गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए।

समाचार शेयर गर्नुहोस्
422
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.