‘स्टार्टअप’ उद्यमका लागि प्रस्ताव आव्हान

‘स्टार्टअप’ उद्यमका लागि प्रस्ताव आव्हान

573
SHARES

काठमाडौं : ‘स्टार्टअप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आव्हान भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना निकालेर परियोजना प्रस्ताव पेस गर्न आव्हान गरेको हो।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीले परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ।

परियोजना प्रस्ताव पेस गर्ने अवधि २१ दिनको राखिएको छ। ‘यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।’

परियोजनाका लागि कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन प्रवर्द्धन, शिक्षा तथा शिक्षण सिकाई, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार लगायत क्षेत्र तोकिएका छन्। यसरी सहुलियत कर्जा लिन दर्ता भएर सञ्चालनमा रहेका कम्पनी वा फर्म निवेदन दिने अन्तिम मितिसम्म ७ वर्ष ननाघेको हुनुपर्नेछ।

यो पनि : ‘स्टार्टअप’ उद्यमका लागि कसरी पाइन्छ २५ लाख?

कूल चुक्ता पुँजी दुई लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म भएको र उद्यमको कूल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ। प्रस्ताव स्वीकृत भएमा सोही परियोजनालाई धितो मानेर वार्षिक ३ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध हुनेछ।

कर्जाको अवधि अधिकतम पाँच वर्ष राखिएको छ। प्रस्तावका साथमा उद्योग दर्ता नवीकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र, उद्योग, फर्म वा कम्पनीको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पूर्णकालीन कामदारको विवरण, सूचना प्रविधिको उपयोग र नवीनताको प्रमाण पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाट कर्जा प्रवाह हुने प्रतिष्ठानले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिना सकिएपछि कार्यविधि स्वीकृत गरेको सरकारले आगामी वैशाख महिनाभित्रमा कर्जा प्रवाह गरिसक्ने बताएको छ।

देशमै बसेर जीविकोपार्जन गर्न सकिने आशाको सञ्चार गराउन सरकारले महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्दै आएको छ। तर, योजना कार्यान्वयनमा हरेक वर्ष समस्या मात्रै देखाउँदा नेपाली युवा शक्ति विदेश पलायन भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
573
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.