क्यान इन्फोटेक : सय जनालाई ठाउँको ठाउँ रोजगारी

क्यान इन्फोटेक : सय जनालाई ठाउँको ठाउँ रोजगारी

काठमाडौं : सूचना तथा प्रविधिमा अब्बल एक सय जना युवाले ठाउँको ठाउँ रोजगारी पाउने भएका छन्। क्यान इन्फोटेक २०२४ मा एक सय युवालाई रोजगारी दिने कम्प्युटर एसोसिएसन महासङ्घ क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

विभिन्न विश्वविद्यालय र कलेजहरूबाट आएका विद्यार्थीहरूलाई लाइभ इन्टरभ्यु लिएर रोजगारीका लागि छनोट गरिनेछ। क्यानले पहिलो पटक मेलाबाट रोजगारी दिन लागेको हो। विगत वर्षका तुलनामा यो वर्ष फरक गर्न खोजिएको उनले बताए।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण गर्न वर्षेनी काठमाडौँको भृकुटीमण्डपमा क्यान इन्फोटेक आयोजना हुँदै आएको छ।

यस वर्ष माघ २५ देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदैछ। मेलामा सबै क्षेत्रका व्यक्तिहरू सहभागी हुन सक्नेछ। क्यान इन्फोटेकमा अवलोकनकर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेकट्रिकल तथा इलेकट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउन सक्ने छन्। साथै साइबर सुरक्षाका उपायहरू पनि लिन सकिने क्यानले जनाएको छ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने क्यान महासङ्घका अध्यक्ष रणजीत पोषदारले बताए। ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौँ,’ पोषदारले भने।

सन १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुवात गरेको हो। सन २०२३ मा इन्फोटेकको २८औँ संस्करण भएको थियो। यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ।

यस अन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था क्यान महासङ्घले जनाएको छ।

नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आइटी डिग्रीका लागि रु. २ करोडको छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिने भनिएको छ। नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आइटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको क्यान महासङ्घले जनाएको छ।

क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीसँगको कुराकानी सुन्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.