नारायणहिटीमा नाराबाजी, ज्ञानेन्द्रलाई प्रधानमन्त्री बन्न सुझाव

नारायणहिटीमा नाराबाजी, ज्ञानेन्द्रलाई प्रधानमन्त्री बन्न सुझाव

काठमाडौं : देशमा आन्दोलनको मौसम चलेको छ। राजतन्त्र ल्याउने र गणतन्त्र फाल्नेदेखि मिटरब्याज पीडित, सहकारी ठगीविरुद्ध आन्दोलन चलिरहेको छ। मिटरब्याज पीडितहरूको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौँसम्म पदयात्रा सुरु गरेका छन्।

मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरूले सुरु गरेको पैदल यात्रालाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिइएको छ। सरकारले मिटरब्याज समस्या समाधान गर्न भन्दै २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो।

जाँचबुझ आयोगले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ। तर आफूहरूको माग अझै पूरा नभएको भन्दै मिटरब्याज पीडितहरूले न्याय मार्च सुरु गरेका हुन्। सहकारीबाट ठगिएका बचतकर्ताहरूको आन्दोलन जारी छ। विभिन्न नाममा प्राय आन्दोलन भइरहेको छ।

मङ्सिर ७ गते नै राजा ल्याउने भनेर आन्दोलन गरेका दुर्गा प्रसाईँ केही महिनाको शक्ति सञ्चय पछि फेरि सडकमा नारा लगाउन थालेका छन्।

प्रसाईँले रोजगारी नपाएर रन्थनिएका युवाहरूलाई सडकमा नारा लगाउन निम्तो दिइरहेका छन्। बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नु नपरोस् भन्ने ध्येय रहे पनि प्रसाईँले चिहानमा पुगेको राजतन्त्र फर्काउने नारा घन्काएका छन्।

काठमाडौं नारायणहिटी दरबार संग्राहलय अगाडी हिन्दु राष्ट्रसहितको राजसंस्था पुनः स्थापना हुनुपर्ने माग राख्दै शनिवार प्रदर्शन भएको हो। प्रसाईँ लगायत राजसंस्था समर्थकहरूले ’राजा आऊ, देश बचाऊ’ लगायतका नारा लगाएका थिए।

देशमा व्यवस्थाप्रति नै प्रश्न उठिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह मौकामा चौका हान्ने दाउ हेरेर सक्रिय बन्न थालेका छन्। देशमा राजा आउनै पर्ने माग सहित राप्रपासहितका समूहले सडक र सामाजिक सञ्जाल तताइरहेका बेला गणतन्त्र पक्षधरहरू भने प्रतिकारमा उत्रिएका छन्।

केही दिन अगाडि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै चुरीफुरी नदेखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका थिए। शनिवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व राजालाई चुनाव लडेर देखाउन चुनौती दिए।

ललितपुरमा आयोजित कार्यक्रममा नेपालले राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्व राजा ज्ञानेन्द्रलाई सुझाव दिए।

राष्ट्रपतिलाई पदीय हैसियत ख्याल गर्न आग्रह

देशमा शासन व्यवस्थाविरुद्ध राजतन्त्र पक्षधरहरू जुरमुराएकै समयमा संविधान अनुसार राजा फालेर राष्ट्रपतिको पदमा पुगेका रामचन्द्र पौडेल सर्वमान्य बन्न नसकेको आरोप लागेको छ। पौडेलले गठबन्धन दलको पक्षमा अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी एमालेले आफ्नो थान्कोमा बस्न सुझाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पौडेललाई काँग्रेसको प्रतिनिधि नबन्न चेतावनी दिए। पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेल काँग्रेस र गठबन्धनको प्रतिनिधिको रूपमा अगाडी बढिरहेको बताउँदै आफ्नो थान्कोमा बस्न चेतावनी दिएका हुन्।

राष्ट्रपति पौडेलले तनहुँमा भएको एक कार्यक्रममा गठबन्धनलाई भोट दिएर जिताएकोमा बधाई दिएको प्रति कटाक्ष गर्दै ओलीले संविधान भन्दा माथि हुने छुट राष्ट्रपतिलाई नरहेको बताए। संविधानको दायरा नाघ्न खोज्दा राजतन्त्र अन्त्य भएको बताउँदै ओलीले पदीय हैसियतको ख्याल गर्न सुझाव समेत दिए।

नयाँ जङ्गबहादुरको आवश्यकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछानेले नयाँ जङ्गबहादुरको आवश्यकता औँल्याएका छन्। अर्घाखाँचीको सन्धिखर्कमा उनले जङ्गबहादुर जन्माएको उक्त ठाउँले नयाँ जङ्गबहादुर जन्माउनुपर्ने बताए।

पार्टी स्थापना भएको छोटो समयमै संसद्मा २१ जनाले प्रतिनिधित्व गरे पनि त्यो सङ्ख्या परिवर्तन देखाउने गरी काम गर्न कम भएको भन्दै त्यसका लागि आगामी चुनावमार्फत बहुमत दिन आग्रह गरे।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठुला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने दाबी गरे।

ठुला दलहरूसँग कुनै एजेन्डा नभएकाले पुष्पलाल, बिपी, मदनको नाम बेचेको तर आफूहरूले सुशासन र समृद्धिको एजेन्डालाई मात्र बोकेर हिँडेको उनले सुनाए।

विद्युतीय ट्याक्सीमा भ्रष्टाचार

ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन्।

काठमाडौँमा स्वरोजगार मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले कार्यक्रमको आयोजना गरी व्यक्तिले किन्दा २९ देखि ३० लाख र व्यवसायका लागि आफूहरूले खरिद गर्दा ३७ लाख तिर्नु पर्ने बाध्यता भएको बताए।

समितिका संयोजक सानु पूर्वछाने मगरले देशका हरेक ठाउँमा भ्रष्टाचार भएजस्तै यातायात क्षेत्रमा पनि व्यापक अनियमितता भएको बताउँदै सरकारले नै बिचौलिया तयार गरी जनता चुसिरहेको टिप्पणी गरे।

यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रका समस्या समाधान गर्ने भन्दा कमिसनको खेलमा लागेको संयोजक मगरको आरोप छ। आन्दोलन परिचालन संयोजक विष्णु कार्कीले सरकारसँग अहिले शान्तिपूर्ण तथा कानुनी अधिकारको लडाई लडिरहेको र त्यसपछि पनि बेवास्ता गरिए व्यवसाय ठप्प पार्ने चेतावनी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading