नेताहरू सफल, देश असफल किन?

नेताहरू सफल, देश असफल किन?

काठमाडौं : राजनीतिक दलहरू प्रतिको वितृष्णालाई क्यास गरेका नयाँ पार्टी उपनिर्वाचनको तयारीमा लागेका छन्। चुनाव लक्षित प्रचारबाजी थालेका छन्। निर्वाचन आयोगले आउँदो वैशाखमा इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ उपनिर्वाचन गराउन लागेको छ।

गत वर्ष मङ्सिर ४ गते मात्रै चुनाव भएको थियो। पाँच वर्षे कार्यकालका लागि निर्वाचित संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आयोगले मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको जानकारी दिएको छ।

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु अघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आव्हान गरेको छ।

जनादेश मान्ने भन्दै स्वतन्त्र नै नाम राखेर पार्टी खोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी काण्डमा नाम मुछिएपछि मलिन भएका छन्। उनले आफूलाई परिपक्व बनाउने अभिव्यक्ति दिन थालेका छन्।

पत्रकारहरूमाथि आक्रामक लामिछानेले गल्ती बोलेको भन्दै सार्वजनिक रूपमा माफी नै मागेका छन्। पत्रकारिता छोडेर राजनीतिमा लागेका लामिछानेले तितोबाट मिठोमा जम्प गर्दा लड्ने डर रहेको सुनाए।

गत मङ्सिरको चुनावमा पाएको क्रेज कायम राख्दै अर्को चुनावमा बहुमत ल्याउन विभिन्न स्टन्डबाजी गर्दै आएका लामिछानेले केही दिन अघि अर्घाखाँची पुगेर देशभरि घण्टीको लहर बोलको चुनावी नारा घन्काएका थिए।

चुनाव हुनुभन्दा ५ महिना अगाडि मात्रै दर्ता भएको स्वतन्त्र नामको पार्टी देशको चौथो शक्ति बन्न सफल भएको छ। नागरिकता विवादमा परेर उपप्रधान एवं गृहमन्त्री र सांसद पद गुमाएका लामिछाने गत वैशाखमा भएको उपनिर्वाचनबाट दोस्रो पटक निर्वाचित भए।

पुरानो दल नेपाली काँग्रेस छोडेर स्वतन्त्रमा लागेका स्वर्णिम वाग्लेले पार्टी प्रवेश गरेकै वर्ष संसद्को यात्रा सुरु गरेका छन्। इलाम क्षेत्र नं २ लक्षित गरेर स्वतन्त्र पार्टीले हरेक कार्यक्रममा सहभागी हुँदै भोट मागिरहेको छ। रफत सञ्चार क्लब भक्तपुरले गरेको कार्यक्रममा लामिछानेले लोकतन्त्रलाई बदनाम हुन नदिने प्रण नै गरेका छन्।

पुराना दलका दोस्रो तहका नेताहरू पनि देशको शासन व्यवस्था सही ढङ्गबाट नचलेको निष्कर्षमा पुगेका छन्। काठमाडौँमा आयोजित ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उनीहरूले ‘सत्ता बाहेक सत्य छैन’ भन्ने हिसाबले पार्टीका प्रमुख नेता चलेको भन्दै विरोध जनाए।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको सरकार बनेका बेला समेत प्रदेशलाई अधिकार दिऔँ भनेर आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग झगडा गर्दा गर्दै मुख्यमन्त्री पदबाट बाहिरिएको सुनाए।

३९ महिना गण्डकी प्रदेशको मुख्यमन्त्री भएर धेरै काम गर्न खोज्दा आफ्नो हातमा हतकडी लगाएको महसुस भएको उनले सुनाए।

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल’ हो भनेर बनाएको गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताए। निर्वाचन प्रणाली नबदलेसम्म अहिलेको जस्तो गठबन्धन र सत्ताका लागि बिचार नमिल्नेहरुसँगको सौदाबाजी नहुने उनले जिकिर गरे।

पूर्व–सभामुख एवं नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले जुन उद्देश्यका साथ अहिलेको व्यवस्थाको परिकल्पना गरिएको थियो, कार्यान्वयन त्यस हिसाबले हुन नसकेको बताइन।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरू र नेताहरू सफल भएको तर देश किन असफल भयो भन्दै प्रश्न गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading