सम्पत्ति विवरण गोप्य, मन्त्रिपरिषद् फेरबदलको सङ्केत

सम्पत्ति विवरण गोप्य, मन्त्रिपरिषद् फेरबदलको सङ्केत

काठमाडौं : सङ्घीय सरकारका मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भइसकेको जनाएको छ। तर, सार्वजनिक भने गरिएको छैन।

सम्पत्ति विवरण सार्वजनिक नगर्ने वर्तमान मन्त्रिपरिषद्को आलोचना भएको छ। गत वर्ष पुस ११ मा प्रधानमन्त्री बनेका प्रचण्डले हालसम्म आफ्नो सम्पत्ति विवरण गोप्य राखेका छन्। प्रचण्ड नेतृत्व सरकारका सबै मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको छ।

सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आलोचना गरेका छन्। सम्पत्ति विवरण सार्वजनिक गरे अहिलेको मुख्य समस्या समाधान हुने दाबी विप्लवको छ।

खासगरी माओवादी आन्दोलनबाट जन्मेर अहिले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरूबाट सम्पत्ति विवरण सार्वजनिक गर्न सुरु गर्नुपर्ने उनले बताए। माओवादीका नेताहरू सत्ता लिप्सा र स्वार्थका कारण बिग्रेको र पार्टी पनि उनीहरूको योजनामा अघि बढेको विप्लवको आरोप छ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन्। उनले छिटै मन्त्री परिषद् पुनर्गठन हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले अब पुनर्गठन हुने मन्त्रिपरिषद्मा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

गत वर्ष सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री प्रचण्डले तामाङ समुदायबाट दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने बताएका थिए। सोनाम ल्होसारकै अवसरमा ठिक एक वर्ष पछि टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तामाङ समुदायबाट एक जनालाई मन्त्री बनाउने बताए।

आफ्नो मन्त्रिपरिषद्मा एक जना सदस्य पनि फेरबदल गर्न नसकेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनेको सुनाएका छन्।

सरकारमा सहभागी दलबाटै सरकारले ढङ्गले काम गर्न नसकेको टिप्पणी हुन थालेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी शक्ति बढेका बताएका छन्।

उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोश बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डबाट धेरै आस गरे पनि अहिले ‘जो जोगी आए पनि कानै चिरिएको’ जस्तो भान जनतालाई भइरहेको टिप्पणी गरे। नेता खनालले जनताका आधारभूत समस्या छुने गरी सरकारले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको जिकिर गरे।

राजालाई फर्काउने मिसनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले भने प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। पटक पटक विभिन्न नाममा आन्दोलन घोषणा गरेर चर्चामा रहेका प्रसाईँले फागुन १ गतेको अर्को कार्यक्रममा सहभागी हुन आह्वान गरेका हुन्।

प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताए। व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आएका प्रसाईँले पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading