काँग्रेस महासमितिको तयारीमा, माओवादीमा १६ वर्षमै सदस्यता प्रस्ताव

काँग्रेस महासमितिको तयारीमा, माओवादीमा १६ वर्षमै सदस्यता प्रस्ताव

काठमाडौं : देशका प्रमुख राजनीतिक दलहरू अधिवेशन र बैठकमा व्यस्त बनेका छन्। नेपाली काँग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता! स्वतन्त्रता, न्याय र समानता!! काँग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नारा सहित महासमिति बैठक हुन लागेको काँग्रेसले जनाएको छ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने महासमिति बैठकमा जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो काम गरेर थप विश्वास दिलाउने दाबी काँग्रेसले गरेको छ। काँग्रेसले महासमिति बैठकका लागि तयार पार्ने स्वागत गेटमा पार्टीका संस्थापक नेता बिपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने जनाएको छ।

महासमितिका लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झन्डा राखिने काँग्रेसले जनाएको छ। सहभागीहरूलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउने पनि काँग्रेस प्रचारप्रसार उपसमितिको तयारी छ।

नेपालको पहिलो राजनैतिक दल काँग्रेसले तय गरेको आर्थिक सामाजिक तथा राजनीतिक मार्गमा नै आजको नेपालको राजनीति विकसित हुँदै आएको दाबी उसले गरेको छ।

विभिन्न कालखण्डमा भए गरेका राजनीतिक क्रान्ति, सङ्घर्ष एवं आन्दोलनबाट काँग्रेस पार्टीले आफ्नो आर्थिक, सामाजिक तथा राजनीतिक विचार धारा, दृष्टिकोण, नीति र कार्यक्रमलाई परिमार्जन र परिष्कृत गर्दै आएको बताएको छ।

२००३ साल देखि २०८० सम्मको यात्रामा आएका हरेक राजनीतिक घटनाक्रम र उतार चढावले पार्टीलाई सबै दृष्टिले क्रमशः समयानुसारको पहिलो र नेतृत्वदायी दलका रूपमा स्थापित गर्दै लगेको दाबी काँग्रेसले गरेको छ।

सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख विश्वकर्माले महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले करिब ५६ पृष्ठको नीति प्रस्ताव पेस गर्ने जानकारी दिए।

महामन्त्रीद्वय गगन थापाले साङ्गठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्नेछन्। महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने केन्द्रीय समितिले पारित गर्ने काँग्रेसले जनाएको छ।

समाजवादको मार्गचित्र बनाउन चुनौती

नेपाली काँग्रेस महासमिति बैठकको तयारीमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई समाजवादको मार्गचित्र बनाउन चुनौती दिएका छन्। काँग्रेस अपवित्र गठबन्धनमा लिप्त रहेको आरोप लगाउँदै ओलीले काँग्रेसले समाजवादसमेत भुलिसकेको बताए।

राजनीतिक दलका नेताहरू जनता झुक्क्याउन माहिर बनेका छन्। जनता झुक्क्याउने दलहरूमा विचार हराउँदै गएको छ। पुराना दलहरू आरोप प्रत्यारोपमा रुमल्लिँदा जनताले विकल्प रोज्न थालेका छन्। नयाँ सोच र विचार सहित उदाएका दलहरू प्रति पुराना दलका नेताहरू आक्रमण बनिरहेका छन्।

एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेस र नेकपा माओवादीलाई यथास्थितीबादीको संज्ञा दिँदै रास्वपाको सेफ, कलर र स्वाद नभएको टिप्पणी पनि गरेका छन्।

माओवादीमा १६ वर्षमै पार्टी सदस्यता

ओलीले काँग्रेससँग समाजवादको खाका मागे पछि नेकपा माओवादी केन्द्रले आफ्नो विधानमा समाजवादको व्याख्या गर्ने तयारी गरेको छ।

मङ्गलवारदेखि काठमाडौँमा जारी विधान अधिवेशनको दोस्रो दिन प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानमै समाजवादउन्मूख भनिएकाले पार्टीको विधानमा पनि समाजवादलाई समेटिने गरी तयारी गरेको जानकारी दिए।

विधानका लागि सुझाव दिन बनाइएका २० समूहमध्ये १३ वटाले बुधवार सुझाव पेस गरेका छन्। सुझाव दिनेमध्ये अधिकांश नेताले पार्टी कमिटी निर्वाचित भएर आउनुपर्ने, विधान उल्लङ्घन हुँदैन भन्ने नेतृत्वले ग्यारेन्टी गर्नुपर्ने मुख्य सुझाव दिएका छन्।

पदाधिकारी वा स्थायी कमिटी मध्ये एउटा मात्र राख्नुपर्ने र सदस्य सङ्ख्या घटाउनुपर्नेमा धेरैको जोड देखिएको उनले बताए। माओवादीमा अहिले पार्टी कमिटी ठुलो भएको भन्दै चर्को आलोचना हुँदै आइरहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोपोलीमा चल्ने र टिके पदाधिकारी आउने माओवादी अब फेरिनुपर्नेमा अधिकांशले सुझाव दिएको प्रवक्ता सापकोटाले बताए।

अध्यक्ष प्रचण्डले ‘विधानको मस्यौदा ’ प्रस्तुत गर्दै प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत नै कमिटी चयन हुनुपर्ने प्रस्ताव गरेका छन्। प्रचण्डले प्रस्ताव सधैँ गर्ने तर कार्यान्वयन गर्न नसक्ने भन्दै आलोचना हुने गरेको छ।

युवालाई नेतृत्वमा ल्याउँदै जनवर्गिय सङ्गठन र मुक्ति मोर्चा सबैलाई अहिलेको आवश्यकताअनुसार पुनर्गठन गर्नुपर्ने र १६ वर्षमै पार्टीको सदस्यता दिनुपर्ने सुझाव आएको प्रवक्ता सापकोटाले बताए।

बैठकमा अब पार्टी डिजिटलाइजेशनमा जानुपर्ने र विज्ञान प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने सुझावसमेत आएको छ। प्रस्तावित विधान आवश्यक संशोधनसहित पारित गर्दै सम्मेलन बिहीबार सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ।

अधिवेशनले प्रस्तावित विधान पारित गरेपछि आगामी महाधिवेशनबाट लागू हुनेछ। माओवादीले यो अधिवेशन लगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन अधिवेशन गरिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading