प्रजातन्त्रका नाममा लुटतन्त्र, ढोका खोलेको पूर्वराजाको सन्देश

प्रजातन्त्रका नाममा लुटतन्त्र, ढोका खोलेको पूर्वराजाको सन्देश

काठमाडौं : हरेक वर्ष झैँ यो वर्ष पनि धूमधामका साथ प्रजातन्त्र दिवस मनाइएको छ। २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भएपछि नेपालका लागि नयाँ युगको सूत्रपात गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ।

तोप पड्काएर नागरिकलाई प्रजातन्त्रको शुभकामना दिन थालेको ७३ वर्ष पुगेको छ। तर प्रजातन्त्र उदय भएको तीन दशक सम्म पनि जनता अवस्था परिवर्तनका लागि खाडी मुलुक हानिन बाध्य बनिरहेका छन्।

प्रजातन्त्र नेता र तीनका आसेपासेका लागि ओढ्ने ओछ्याउने जस्तो बनेको छ। जनतामाथि लुटतन्त्र लादिएको छ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सत्ताको बागडोर सम्हाल्नेहरू भ्रष्टाचारी भए पछि जनताले दुख पाएको बताउँछिन्।

शासक वर्गमा प्रजातन्त्र जहिल्यै छ। तर नागरिकसँग दिवस मात्रै। मुलुकले ७३ वर्षदेखि पटक–पटक सङ्घर्ष गरेर प्रजातन्त्रपछि लोकतन्त्र र सङ्घीय गणतन्त्र पनि ल्याए। हिजो राजा/महाराजाबाट स्वतन्त्रता खतरा पर्‍यो। आज आफ्नै बीचबाट पुगेका नेताहरूले स्वतन्त्रता खतरामा पारेका छन्।

लोकतन्त्र मुर्छित अवस्थामा छ। यो मुर्छित अवस्थाबाट बौरिन्छ कि बौरिँदैन? यसै भन्न सकिने अवस्था छैन।

तेस्रो पटक सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने जहिल्यै पनि नेपालको राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा देखिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष सङ्घीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरेका छन्।

प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको आरोप लगाएका छन्।

आफूले गरेको सबै राम्रो अरूले गरेको सबै खत्तम देख्ने एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोप लगाएका छन्।

जनताको पिर मर्का एकातिर नेताहरूको तिर अर्को तिर भइरहँदा गणतान्त्रिक व्यवस्था विरोधीहरू सक्रिय बनेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसलाई व्यवस्था बदल्ने उपयुक्त मौका भएको आकलन गरेर आफ्ना अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन्।

पूर्वराजा शाहले राज्य व्यवस्थाका हर्ताकर्तालाई धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउन सुझाव दिएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले जनता जनार्दनले जे भन्दछन्—त्यो सुनौँ—त्यसलाई गुनौँ र राज्यव्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ’ भनेका छन्।

पूर्वराजा शाहले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। सदैव नेपाली जनसँग निकट रही रहने र सम्पर्कका निम्ति सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव राखेको उनले उल्लेख गरेका छन्।

सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वास्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने—सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading