पारिवारिक कलहले दुई नाबालिका सहित तीन जनाको हत्या

पारिवारिक कलहले दुई नाबालिका सहित तीन जनाको हत्या

काठमाडौं : पारिवारिक कलहका कारण एकै परिवारका तीन जनाको हत्या भएको छ। हत्याराले आत्महत्या गरेका छन्। काठमाडौँको गैरीगाउँ घटना जस्तै प्रकृतिको हत्या घटना काठमाडौँकै सितापाइलामा भएको छ।

गैरीगाउँमा रिसिइबिका कारण चार जनाको सामूहिक हत्या भएको थियो भने सितापाइलामा श्रीमान् श्रीमतीबिचको आपसी विवादले ८ र २ वर्षकी बालिकाले समेत अनाहकमा ज्यान गुमाउनु परेको छ।

सोलुखुम्बु, दुधकुण्ड नगरापालिका १० घर भई भैरबटोल बस्दै आएका राजु भन्ने काजी विश्वकर्मा घिमिरेले ३८ वर्षकी श्रीमती ईश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ सहित ८ वर्षकी छोरी अनिशा श्रेष्ठ र नातिनी पर्ने २ वर्षीया शिवाना श्रेष्ठको हत्या गरेका हुन्।

श्रीमती ईश्वरीसहित तीन जनाको हत्यापछि उनले आफन्तलाई फोन गरेर सबैलाई मारेर आफू पनि मर्न हिँडेको बताएका थिए। तीन जनाको हत्या गर्नु अघि उनले १५ वर्षका छोरा अनिसलाई बाहिर पठाएका थिए। हत्या गरेर निस्कँदै गर्दा छोरा अनिस फर्केपछि उनले हत्याको भिडियो बनाएको खुलेको छ।

घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ईश्वरी, उनकी छोरी अनिसा र नातिनी सिवाना मृत भेटेको थियो भने काजी फरार थिए।

उनको खोजी गर्ने क्रममा ह्वाइट गुम्बा जङ्गलस्थित सल्लाको रुखमा डोरीले पासो लगाई झुन्डिएका अवस्थामा फेला परेको काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। परिवारमा तीनै जनाको हत्यापछि नजिकैको जङ्गलमा पुगेर काजीले आत्महत्या गरेका हुन्।

मृतक ईश्वरीले एक महिनाअघि मात्रै प्रहरी वृत्त स्वयम्भूमा बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् भने आरोपी ५१ वर्षका पुरुष यही फागुन १ गते काठमाडौं जिल्ला अदालतको आदेशमा ५ लाख रुपैयाँ धरौटी तिरेर छुटेको खुलेको छ।

सोही विषयमा उनीहरुबीच मनमुटाब रहेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। हत्यापछि काजीले खिचेको भिडियो क्लिप पनि प्रहरीले फेला पारेको छ। प्रहरीलाई प्राप्त भिडियोमा उनले घटना आफूले घटाएको स्वीकार गरेका छन् भने आफ्नो छोराको राम्रोसँग रेखदेख गर्न भनेको प्रहरी स्रोतले बताएको छ।

ईश्वरीको पहिलो श्रीमान् तर्फका विदेशमा रहेका छोरालाई सम्बोधन गरेको भिडियो क्लिपमा उनले आफूले जोडेका केही सम्पत्ति बारे जानकारी दिँदै भाइलाई हेला नगर्न भनेका छन्। ईश्वरीले १७ वर्ष अगाडी काजीसँग दोस्रो विवाह गरेकी थिइन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.