रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

काठमाडौं : रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि करिब ६ महिना अघि रुसी सेनामा भर्ती भएका बागलुङ ताराखोला गाउँपालिका २ का ३६ वर्षीय जित बहादुर बि.क.को मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

गाउँमा सवारी चालकका रूपमा काम गर्दै आएका बिक गत असोजमा दलाल मार्फत रुसी सेनामा भर्ती हुन रुस पुगेका थिए। रुसी सेनामा भर्ती भए लगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका बि.क.को रुसको रोस्तोभको अनडनमा उपचारका क्रममा गत माघ २० गते मृत्यु भएको हो।

बि.क.को गत माघ २० गते नै मृत्यु भए पनि परिवारले दुई–तीन दिन अघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिए। मृतक बि.क.को बुधवार परिवारले आफ्नो परम्परा अनुसार अन्तिम संस्कार समेत गरेको वडा अध्यक्ष घर्तीले बताए।

बि.क.को डेथ सर्टिफिकेट समेत प्राप्त भएपछि परिवारले शव विनै अन्तिम संस्कार गरेको हो। मृतक बि.क.को शव ल्याउन परिवारले सरकारसँग गुहार समेत मागेका छन्।

तर सरकारले अहिले सम्म यस अघि मृत्यु भएका नेपालीको शव ल्याउन सकेको छैन। कमजोर कूटनीतिका कारण नेपालले रुससँग औपचारिक रूपमा संवाद समेत अगाडी बढाउन सकेको छैन।

यसअघि रुसी सेनामा भर्ना भएका स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो। रुसी सेनामै भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको पनि मृत्यु भएको छ।

अझै पनि रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्याङ्क सरकारसँग छैन। दलाल मार्फत पैसा कमाउने लोभमा अवैध बाटो हुँदै रुस पुग्नेको सङ्ख्या २ सय रहेको सरकारको दाबी छ। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएकामध्ये एक सय भन्दा धेरै बेपत्ता रहेको जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading