गठबन्धन फेर्ने सङ्केतसँगै माओवादी मन्त्रीमाथि काँग्रेस आक्रामक

गठबन्धन फेर्ने सङ्केतसँगै माओवादी मन्त्रीमाथि काँग्रेस आक्रामक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेर्ने सङ्केत दिएको भोलिपल्टै प्रमुख सत्ता साझेदार नेपाली काँग्रेस सरकारका मन्त्रीहरू प्रति आक्रामक भएको छ।

काँग्रेसले प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका सुदन किरातीमाथि गम्भीर आरोप लगाएको छ।

मन्त्री किराती १८ करोड कमिसन खाने दाउमा लागेको काँग्रेस सांसद रामहरि खतिवडाले आरोप लगाएका हुन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सत्तापक्ष काँग्रेसका सांसद खतिवडाले मन्त्री किराँती विमान खरिद प्रक्रियामा १८ करोड कमिसन लिएर अनियमितताको तयारीमा लागेको गम्भीर आरोप लगाएका हुन्।

प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी विकास कोषले लगाएको ठेक्काको विषयमा मन्त्री किराँतीको राजीनामा मागिरहेको छ। काँग्रेस सांसद खतिवडाले मन्त्री किराँतीमाथि कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक गरेर सस्तो लोकप्रियताका लागि तस्बिर सार्वजनिक गर्ने पद्धतिको विकास गरेको आरोप समेत लगाए।

उनले मन्त्रीहरू कामका आधारमा भन्दा दामका आधारमा नियुक्ति दिने धन्दामा समेत लागेको आरोप उनले लगाए।

प्रधानमन्त्री प्रचण्डको सरकारमा टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको आलोचना भइरहेको छ।

स्वतन्त्र पूर्वक काम गर्न नपाएको गुनासो गर्दै आएका प्रचण्डले शनिवार मात्रै समाजवादी मोर्चाको बैठक राखेर मोर्चामा एमालेलाई पनि समेट्ने निर्णय गराएका थिए।

संसद्मा नियमापत्ति माथि नियमापत्ति

प्रतिनिधिसभामा सत्तापक्षकै सांसदको अभिव्यक्तिमा सत्तापक्षकै सांसदले नियमापत्ति माथि नियमापत्ति जनाउने गरेका छन्। प्रतिपक्षी दल राप्रपासँग माओवादी सांसद जुधे पछि सत्तारुढ नेपाली काँग्रेसका सांसदले नै नियमापत्ति जनाएका हुन्।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दबाबमा राख्न खोजे पछि काँग्रेस सांसद सुनिल शर्माले प्रतिपक्षीको आवाज बन्द नगर्न चेतावनी दिए।

अघिल्लो बैठकमा माओवादी सांसद सापकोटाले सांसद पदबाट राजीनामा दिन चुनौती दिएका थिए। आइतबारको बैठकमा पनि सापकोटाले राप्रपाले यो व्यवस्थामा दोहोरो चरित्र देखाएको भन्दै आक्रोश पोखे।

सापकोटाको प्रश्नको जवाफ दिँदै राप्रपाका सांसद शाहीले कसैलाई चित्त नबुझ्दैमा सांसदको राजीनामा माग्न नसकिने भन्दै संविधान पढ्न सुझाए। फरक बिचार राख्नेलाई समेत अहिलेको संविधानले नै ठाउँ दिएको भन्दै शाहीले आफू घाटी रेटेर, मान्छे मारेर संसद्मा आएको नभई चुनाव जितेर आएको जवाफ फर्काए।

शाहीको अभिव्यक्तिमा माओवादी सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए।

माओवादीको नियमापत्तिमाथि सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पनि आपत्ति जनाए।

सांसदहरूको आरोप प्रत्यारोपको दोहोरीपछि ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ।

प्रि बजेट छलफलको प्रस्ताव

सङ्घीय संसद्मा सोमबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलका लागि प्रस्ताव पेस हुने भएको छ।

बिहान ११ बजे बस्ने कार्यसूची रहेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१।०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

विगतका वर्षहरूमा जेठ १५ अघि हुने छलफल यस वर्षदेखि फागुनको मध्यदेखि नै गर्न लागिएको हो। सोमबार प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन्।

प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ। सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर पनि हुने संसद्को क्यालेन्डरमा उल्लेख छ। यसै गरी विभिन्न विधेयक पेस हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.