माओवादीमा काँग्रेससँगको सहकार्य लम्ब्याउन नहुने सुझाव

माओवादीमा काँग्रेससँगको सहकार्य लम्ब्याउन नहुने सुझाव

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अधिकांश सदस्यले नेपाली काँग्रेससँगको सहकार्य लम्ब्याउन नहुने सुझाव दिएका छन्।

काँग्रेसले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई जस्ताको त्यस्तै अन्तिम रूप दिएमा सहकार्य लम्ब्याउन नहुने सुझाव दिएका माओवादी सचिव गणेश शाहले बताए।

माओवादी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले आगामी चुनावमा गठबन्धन नगर्ने काँग्रेस महासमिति बैठकको निर्णय काँग्रेसको केन्द्रीय समितिको बैठकबाट जस्ताको त्यस्तै दस्तावेजीकरण भए सहकार्य लम्ब्याउन नहुनेमा जोड दिएका शाहले बताए।

काँग्रेससँगको सहकार्य तत्काल नतोडिने बताउँदै माओवादी सचिव शाहले पूर्ण विश्वासको वातावरण बनाउन छलफल भने हुनुपर्ने बताए। ‘विश्वासको वातावरण दिलाउनका लागि गठबन्धन भित्रका दलहरूले छलफल, संवाद, वार्ताहरू गर्नुपर्छ,’उनले भने,‘काँग्रेस केन्द्रीय समितिको ध्यान जाओस् भनेर पनि हामीले यो कुरा उठाएको हो।’

माओवादीले काँग्रेस महासमितिका प्रतिवेदनलाई अन्तिम दस्ताबेज बनाउन बाँकी रहेकाले त्यस बेलासम्म पर्खने बताएको छ। प्रचण्ड र देउवाबीच भेटघाट गरेर एक अर्कालाई आश्वस्त गर्ने कुराहरू भइरहेको सचिव शाहले बताए। उनले गठबन्धनमा यसले तात्त्विक असर नपर्ने बताए।

राष्ट्रिय सभा चुनावमा काँग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभा अध्यक्ष पद पनि काँग्रेसलाई नदिने बताएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादी स्थायी कमिटी बैठकमा काँग्रेस महासमितिबारे समीक्षा समेत भएको छ। काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर माओवादी स्थायी कमिटी सदस्यहरूले आलोचना गरेका छन्।

आगामी निर्वाचनमा गठबन्धन नगर्ने काँग्रेस महासमिति बैठकको निर्णयबारे पनि बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले सुनाए।

स्थायी कमिटी सदस्यहरूले काँग्रेससँगको सहकार्यमा लम्ब्याउन नहुने सुझाव दिए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रतिक्रिया दिएका छैनन्।

बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ। कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ।

प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ। विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading