राष्ट्रिय सभामा २० आउट, १९ इन

राष्ट्रिय सभामा २० आउट, १९ इन

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाका नयाँ निर्वाचित १९ जना सदस्य सोमबार पहिलो बैठकमा सहभागी हुँदैछन्। माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित १९ सदस्य शपथ ग्रहणसँगै पहिलो बैठकमा सहभागी हुन लागेका हुन्।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको पदावधि आइतबार सकिएसँगै सोमबारदेखि नयाँ निर्वाचित सदस्यको पदावधि सुरु हुने भएको हो। पदावधि सकिएका २० सदस्यको आइतबार बिदाइ भैसकेको छ।

राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या १७ पुगेको छ भने नेपाली काँग्रेसको सदस्य सङ्ख्या १६ पुगेको छ। यसअघि ठुलो दल रहेको नेकपा एमाले १० सदस्य सङ्ख्या सहित तेस्रो हैसियतमा पुगेको छ।

एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, घनश्याम रिजाल, जीतजंग बस्नेत, श्रीकृष्ण अधिकारी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, विष्णुकुमारी पुडासैनी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, नारायणदत्त भट्ट, बलदेव बोहराले सोमबारको बैठकमा आआफ्नो अपेक्षा समेत प्रस्तुत गर्ने भनिएको छ।

दुई राज्यमन्त्रीसहित राष्ट्रियसभाका २० सांसद घर फर्कँदै

राष्ट्रिय सभाको बैठक उपाध्यक्ष उर्मिला अर्यालले सञ्चालन गर्नेछिन्। अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभाको नेतृत्व उपाध्यक्ष अर्यालले सम्हाल्नेछिन्। अध्यक्ष चयनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता र २९ गते मतदान हुँदैछ।

अध्यक्षमा सत्ता गठबन्धनको काँग्रेस र माओवादी दुवै दलले दाबी गर्दै आएका छन्। माओवादी केन्द्रले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ काँग्रेस झस्किएको छ। राजनीतिक समीकरण फेरबदलको चर्चा समेत चलेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी अ‍ोली, रास्वपा सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार राति छलफल भएको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्मा जवाफ दिनुअघि गठबन्धन र गठबन्धनइतर दलका नेताहरूसँग छलफल जारी राखेका छन्।

सोमबारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित रास्वपा, राप्रपालगायतका दलले विवादित मन्त्रीहरूको राजीनामा लगायतका समसामयिक विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.