भाइलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी, ओलीको गालीको कुटुरो बन्द

भाइलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी, ओलीको गालीको कुटुरो बन्द

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० फागुनमा विश्वासको मत लिने तयारी गरेका छन्। नयाँ गठबन्धनपछि नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले मतदानमा पार्टीका सबै सांसदहरूलाई सहभागी हुन ह्विप जारी गर्ने निर्णय नै गराएका छन्। शनिवार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र राष्ट्रिय सभाका अध्यक्ष पदको मतदानको दिन सबै सांसदहरूलाई उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

प्रमुख सचेतक पाण्डेले माओवादीले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार आइतबारसम्ममा टुङ्गो लगाउने जानकारी पनि दिए। उम्मेदवारको नाम भने टुङ्गो नलगाएको माओवादीले राष्ट्रियसभाको अध्यक्षमा प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाललाई अगाडि सार्ने तयारी गरेको स्रोतले बताएको छ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी उम्मेदवारलाई एमालेले समर्थन गर्नेछ। वर्तमान नयाँ गठबन्धनबाट अध्यक्षको उम्मेदवारमा लगभग प्रचण्डका भाइको नाम टुङ्गो लागिसके पनि सार्वजनिक भने भएको छैन।

माओवादीसँगको सहकार्यमा राष्ट्रियसभा सदस्यमा निर्वाचित काँग्रेसका कृष्णप्रसाद सिटौला गठबन्धन फेरिएसँगै अध्यक्षको दाबीबाट ब्याक भएका छन्। सिटौलालाई सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा काँग्रेस संसदीय दलको नेतामा मनोनयन गरेका छन्।

सत्तापक्षबाट प्रतिपक्षमा पुगेको काँग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी भने दिने भएको छ। देउवा निवास बुढानीलकण्ठमा शनिवार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।

उम्मेदवार भने पछि चयन गरिने काँग्रेसले जनाएको छ। माओवादीसँग गठबन्धन हुँदा काँग्रेसले सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो।

राष्ट्रियसभाको रिक्त अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदै छ। राष्ट्रियसभाको आइतबार बस्ने बैठकले अध्यक्षको निर्वाचनको मिति तोक्ने छ। २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुने गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी राष्ट्रियसभा सचिवालयले गरेको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली काँग्रेस बहुमत पुर्‍याउन नदिने खेलमा समेत लागेको छ। नयाँ गठबन्धन निर्माणका लागि काँग्रेस सभापति देउवाले साना दलहरूलाई बुढानीलकण्ठ बोलाएर फकाइरहेका छन्। तर, भ्यागुतोको धार्नी पुर्‍याउन काँग्रेसलाई सकस परेको छ।

ओलीको गालीको कुटुरो बन्द

सत्ता गठबन्धन आफ्नो पोल्टामा सार्न सफल नेकपा एमाले उत्साहित भएको छ। गठबन्धन फेरेर सरकारमा सहभागी भएसँगै एमाले नेताहरूको बोली पनि फेरिएको छ।

सत्ता फुत्केदेखि हप्ता दिन अघिसम्म देश बरबादीतर्फ अघि बढेको दाबी गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारमा सहभागी भएसँगै मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको आफ्नै अभिव्यक्ति गलत भएको बताएका छन्।

सत्तामा पुगेसँगै एमाले अध्यक्ष ओलीको गालीको कुटुरो केही समयका लागि बन्द भएको छ। अघिल्लो सरकारमा दागी मन्त्रीहरूको राजीनामा माग्दै आएको एमाले अहिले चुपचाप बसेको छ। प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसले डिस्टर्व गर्दा सत्ता समीकरण बदलिएको एमालेको तर्क छ।

संसद्मा दागी मन्त्रीहरूको राजीनामा मागेको एमालेले अहिलेको मन्त्रिपरिषद्मा ठेकेदारलाई सरकारको नेतृत्व सुम्पेपछि मौन बसेको हो। सुन तस्करीमा जोडिएकादेखि मानव तस्करी, दोहोरो राहदानी र सहकारी ठगीमा मुछिएकाहरू सरकारमा सहभागी भएका छन्।

प्रचण्डको पुनर्गठित मन्त्रिपरिषद्मा यसअघि नै विवादित चार व्यक्ति परेका छन्। खास गरी सुशासनको दुहाइ दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, रास्वपाकै उपसभापति डोलप्रसाद अर्याल (डिपी) र नेकपा एमालेका सचिव रघुवीर महासेठ विवादित पृष्ठभूमिका हुन्। सुन तस्करीमा अर्थमन्त्री वर्षमान पुन अनन्तको समेत नाम मुछिएको छ।

अब एमाले सरकारको गालीमा नउत्रने देखिएको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। उनले तत्काल काँग्रेस सरकार परिवर्तनको खेलमा पनि नरहेको बताए।

उनले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई गाली गरिरहने एमाले अध्यक्ष ओलीको गालीको कुटुरो भने केही समय बन्द हुने सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading