रुसी सेनामा भर्ती भएका पीडित परिवारसँग सरकारले छलफल गर्ने

रुसी सेनामा भर्ती भएका पीडित परिवारसँग सरकारले छलफल गर्ने

312
SHARES

काठमाडौं : सुनौलो भविष्यको सपना बोकेर अवैध बाटो हुँदै रुसी सेनामा पुगेकाहरूको अवस्था भयावह देखिएको छ। महिनाको लाखौँ रुपैयाँ कमाई हुने लोभमा दलाल मार्फत रुस पुगेकाहरूको उतै अवसान हुन थालेको छ।

सेनामा भर्ना भएकाहरू मध्ये कयौँ घाइते अवस्थामा रहेका छन् भने हजारौँ युवाहरूले ज्यान जोगाउन हारगुहार गरिरहेका छन्। रुसी सेनामा भर्ती भएका मध्ये अहिलेसम्म २७ जनाले ज्यान गुमाइसकेका छन्।

विवरणहरू धमाधम थप हुँदै जाँदा अवस्था निकै दर्दनाक अवस्थामा पुगेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना’ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन।

रुसी सेनामा पुग्ने अनि बेपत्ता हुनेको ग्राफ उकालो लाग्दै जाँदा पछिल्लो समय तनहुँका आठ जना युवा पनि सम्पर्कविहीन भएका छन्।

दलाल मार्फत भिजिट भिसा मार्फत पुगेर रुसी सेनामा भर्ना भएका व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्यादे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन्।

सम्पर्क विहीन भएका परिवारले खोजी कार्यका लागि भन्दै अहिले सम्म आठ ओटा निवेदन दिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन।

रुसमा दूतावास नहुँदा सहज रूपमा खोजी तथा उद्धार हुने अवस्थामा नरहेको बताउँदै उनले खोजीका लागि कन्सुलर विभागलाई पत्र पठाएको बताइन। भुसको आगो झैँ सल्की रहेको यस प्रकरणमा सरकारले भने खासै चासो देखाएको छैन।

गठबन्धन बनाउने र गिराउने कार्यले फुर्सद नपाएको सरकारले मङ्गलवार पीडित परिवारसँग भेट गर्ने भएको छ। नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिउँसो ४ बजे पीडितका परिवारसँग भेट गर्न लागेका हुन्।

पीडितहरूको समयमै उद्धार हुन नसकिरहेका बेला रुसमा अलपत्र परेका पाँज जना नेपालीले भने उद्धारका लागि भारत सरकारसँग गुहार मागेका छन्। हिन्दी भाषा मार्फत उनीहरूले नेपाल सरकारबाट कुनै सुनुवाइ नभएको बताउँदै भारत सरकार मार्फत उद्धारका लागि गुहार गरेका हुन्।

२ मिनेट १९ सेकेन्ड लामो भिडियोमा रुसमा अलपत्र परेका भारतीयहरूलाई भारत सरकारले उद्धार गरेकोले आफूहरूको पनि उद्धार गरिदिन अनुरोध गरिएको छ।

पीडितका परिवारले यसअघिका पराराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरे पनि मिडियामा कुरा सार्वजनिक गरेको भन्दै उल्टै गुनासो सुनाउन मन्त्रालय पुगेकाहरूसँग झोक्किएका थिए।

समाचार शेयर गर्नुहोस्
312
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.