प्रधानसेनापतिले देखे ‘शक्ति केन्द्रको होडबाजीले सुरक्षा चुनौती’

प्रधानसेनापतिले देखे ‘शक्ति केन्द्रको होडबाजीले सुरक्षा चुनौती’

काठमाडौं : नेपाली सेनाले विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास हुँदै गएको बताएको छ। अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरुबीचको ध्रुवीकरण बढ्दै गएको सेनाले उल्लेख गरेको छ।

प्रधानसेनापति प्रभुराम शर्माले शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती समेत थपिएको बताए।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले नेपालमा सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताए।

नेपालको सन्दर्भमा संवेदनशील भूराजनीतिक, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा हेरिने गरिएको उनले बताए।

प्रधानसेनापति शर्माले श्रम आप्रवासन, युवाहरूको पलायन, विभिन्न युद्धरत देशहरूका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरू, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धिहरू मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्त्वपूर्ण विषयहरू भएको बताए।

उनले सूचना प्रविधि एवं आर्टिफिसियल इन्टिलिजेन्समा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गरे। साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनःपरिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नवीनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न उत्तिकै जरुरी रहेको प्रधानसेनापति शर्माले बताए।

उनले प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्सालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रिय रूपमा तर्जुमा गरिएका नीति नियमहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरे।

‘विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू लगायत सम्बन्धित योजनाहरू तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेकोले तालिमका सहभागीहरूलाई परम्परागत तथा अपरम्परागत सुरक्षा चुनौतीहरूको सँगसँगै पहिचान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षामा यस्ता तत्त्वहरूको महत्त्वलाई सूक्ष्म र गहन तवरबाट विश्लेषण गर्नु’उनले भने।

रक्षा सचिव किरणराज शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता रहेको बताए। विशेषतः उच्च पदस्थ अधिकारीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बद्ध महत्त्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामहरू लगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुने उनले उल्लेख गरे।

सचिव शर्माले देशको सुरक्षामा खलल पुर्‍याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरूलाई एकीकृत रूपमा समन्वयात्मक ढङ्गबाट सामना गरिएमा मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति समेत प्रभावकारी हुने बताए।
सैनिक कमान्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म १९३ जना प्रशिक्षित भैसकेको जानकारी गराए।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण चैत्र १६ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरू, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट ३० जनाको सहभागिता रहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.