प्रचण्डको तेस्रो साझा कार्यक्रम : पुरानो किताबमा नयाँ गाता

प्रचण्डको तेस्रो साझा कार्यक्रम : पुरानो किताबमा नयाँ गाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १५ महिनामा तेस्रो पटक न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धन फेरे पिच्छे प्रधानमन्त्री प्रचण्ड न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै आएका छन्। प्रचण्डको तेस्रो प्रधानमन्त्री कालमा यो अर्को न्यूनतम साझा कार्यक्रम हो।

प्रचण्ड सरकार जनतामा निराशा आउन नदिन ‘पुरानो किताबमा नयाँ गाता’ हालेर कार्यक्रम सार्वजनिक गर्ने रेसमा पहिलो बनेको छ। तेस्रो पटक सार्वजनिक गरिएको गठबन्धन सरकारको न्यूनतम साझा सङ्कल्पमा उही पुरानै कुरा आर्थिक शिथिलता अन्त्य गर्ने, सङ्घीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्ने भन्ने नै छन्।

शिक्षा, स्वास्थ्य र रोजगारीको रटान घाटी सुक्ने गरी लगाइएको छ। सङ्क्रमणकालीन न्यायको विषयमा गलफती भइरहँदा प्रचण्ड सरकारको साझा कार्यक्रममा भने शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग्याउने भनिएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै काँग्रेसलाई आउट गरेर सत्तामा इन भएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले अवकाश प्राप्त सरकारी कर्मचारीहरूलाई स्वयंसेवक शिक्षक बनाउने नयाँ योजना सुनाएका छन्।

सरकारले सार्वजनिक गर्ने यस्ता योजना योजनामा मात्रै सीमित हुँदै आएका छन्। घोषणा गर्ने आश्वासन दिने तर कार्यान्वयन फिटिक्कै नगर्ने नेताहरूले जनविश्वास गुमाउँदै गएका छन्। प्रधानमन्त्री प्रचण्ड पनि घोषणा गर्दागर्दै थाकेका छन्।

घोषणा ठुलो कुरो नभएको प्रचण्डलाई पनि लागेको छ। तर, बाध्यता नयाँ समीकरण गरेका प्रचण्डलाई जनतामा घोषणा मात्रै भए पनि दिइरहनु परेको छ।

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको दाबी गरे। ‘जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई अझ तीव्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ।’

उनले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितअनुसार काम गर्न निर्देशन पनि दिए। ‘जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सङ्कल्प र समीकरणबाट पनि जनतामा डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला।

प्रधानमन्त्री बने पछि सार्वजनिक गरिएका यस्ता दुई सङ्कल्प प्रस्तावले जनतामा आशा जगाउन सकेनन्। जनतामा निराशा छाएको प्रचण्डलाई थाहा नभएको पनि होइन। तर, आफू बाहेक अरू कसैले जनताको निराशा अन्त्य गरेर आशा जगाउने प्रचण्डले देखेका छैनन्।

नयाँ समीकरण बनिसके पछि केही दिनभित्रै राम्रा काम अघि बढेका प्रधानमन्त्री प्रचण्डको भनाइ छ। ‘मिटरब्याज, लघुवित्त, सहकारी समस्या मात्र होइन दसौँ महिनादेखि माइतीघर मण्डलामा न्यायका निम्ति आवाज उठाउनेहरूका समस्या पनि सम्बोधन गर्ने प्रक्रिया सुरु गरिसकिएको प्रचण्डले सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading