रविलाई ‘क्लीन चिट’, काँग्रेसको माग ठाडै अस्वीकार

रविलाई ‘क्लीन चिट’, काँग्रेसको माग ठाडै अस्वीकार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’ दिएका छन्।

प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणको अनुसन्धान गर्दा लामिछाने दोषी नदेखिएको भन्दै यस विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गर्न खोजिएको आरोप नै लगाए।

हालसम्मको अनुसन्धानले लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कहीँ कतै जोडिएको नदेखिएकोले दोषी भन्न नमिल्ने जवाफ प्रचण्डले दिए।

लामिछानेले सहकारीबाट लिएको १ करोडबारे केही बोलेका छैनन्। प्रधानमन्त्री प्रचण्डले भने सहकारीबाट प्रवाह भएको भनिएको ऋण फर्छ्यौट भइसकेको समेत देखिन आएको सुनाए। प्रधानमन्त्री प्रचण्डले संसदीय मूल्य मान्यता नबिर्सन काँग्रेसलाई सचेत पनि गराए।

तर, प्रधानमन्त्रीको जवाफ काँग्रेसले अस्वीकार गरेको छ। काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दोषी नदेखे पनि आफूहरूसँग पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरे।

काँग्रेसले संसद्का अरू कार्यसूचीमा जान सकिने तर मन्त्री लामिछानेलाई रोष्टममा उभिन नदिने रणनीति लिएको छ। यसअघि पनि काँग्रेसले लामिछानेले विधेयक पेस गर्नुअघि संसद् अवरोध गरेको थियो। काँग्रेस प्रमुख सचेतक लेखकले यति भन्दा भन्दै पनि लामिछानेबारे समिति गठन नभए लामिछानेलाई सदनमा उभिन नदिने चेतावनी दिए।

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रचण्डलाई गगनको चुनौती

गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने प्रतिपक्षी काँग्रेसको मागमा सत्ता गठबन्धन दल आगो भएका छन्। प्रचण्डले एमालेसँग सहकार्य गर्दा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको काँग्रेसको माग अनावश्यक रहेको टिप्पणी गठबन्धन दलले गरेका छन्।

संसदीय छानबिन समिति गठन गर्नुपर्ने काँग्रेसको मागलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिएका छन्। उनले समिति गठन गर्ने सम्भावना नै नरहेको प्रतिक्रिया दिए।

प्रतिपक्षीमा हुँदा संसद् नै अवरोध गरेर सरकारलाई हायलकायल पार्ने एमाले अहिले सत्तामा छ। सत्तामा हुँदा एमालेले फेरिएको आसनबाट शासन चलाइरहेको छ। एमाले सरकारको रक्षाकवजका रूपमा उभिएको छ।

काँग्रेस गृहमन्त्रीमाथि आक्रोशमा उत्रिँदा गठबन्धनका एमाले माओवादी बचाउन लागिरहेका छन्। ओली र प्रचण्डले काँध थापे पछि गृहमन्त्री लामिछानेले काँग्रेसलाई चार वर्ष संसद् अवरुद्ध गरेर देखाउन चुनौती दिएका छन्।

लामिछानेमाथि सहकारीको १ करोड रुपैयाँ गैरकानुनी रूपमा लिएको आरोप लागेको छ भने सहकारी ठगीमा परेका पीडितहरूले जीवी राईसहित लामिछानेविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। रवि गृहमन्त्री बने लगत्तै जीवी राई पक्राउ पर्ने हल्ला भए पनि अहिलेसम्म पक्राउ पर्ने कुनै सूचना चुहिएको छैन।

लामिछाने पनि पहिला सूचना दिएर भन्दा पक्राउ गरेर ब्रेकिङ न्युज दिने बताइरहेका छन्। सुन तस्करी प्रकरणमा सत्ता गठबन्धनको माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि लामिछाने आफूहरूलाई काम गर्न दिन भनिरहेका छन्।

तर, काँग्रेसले लामिछानेमाथि नै छानबिन गर्नुपर्ने माग गरेको छ। काँग्रेसको मागमा गृहमन्त्री लामिछाने रिसाएका छन्। उनले काँग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे। उनले काँग्रेस नेताहरूकै पोल खोलेर आफू भने पानी माथिको ओभानो बन्न खोजेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading