रवि काँग्रेससँग आक्रोशित, ठगी प्रमाणित गर्न चुनौती

रवि काँग्रेससँग आक्रोशित, ठगी प्रमाणित गर्न चुनौती

312
SHARES

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने काँग्रेससँग आक्रोशित बनेका छन्। उनले अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने काँग्रेसका मन्त्री लक्षित अभिव्यक्ति दिँदै नैतिकता सिकाइरहनु नपर्ने बताए।

काठमाडौँमा आयोजित कार्यक्रममा अधिकांश समय काँग्रेस प्रति आक्रामक अभिव्यक्ति दिएका लामिछानेले नैतिकता नदेखाएकै कारण काँग्रेसलाई गलहत्त्याएर सरकारबाट निकालेको सुनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँट गरिरहे ऐतिहासिक उपलब्धि हासिल हुने लामिछानेले जिकिर गरे।

उनले काँग्रेसलाई संसद्को अवरोध अन्त्य गर्न आग्रह गरे। लामिछाने सहकारी ठगीमा मुछिएकाले राजीनामा दिनुपर्ने माग गरेको काँग्रेसलाई अवरोध अन्त्य गर्न उनले आग्रह गरेका हुन्। सहकारी विवादका कारण गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गरेको काँग्रेसलाई नै लामिछानेले प्रश्न गरे।

काँग्रेसका नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा उनले सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुले केही रहस्य रहेको बुझ्न समस्या नभएको बताए।

काँग्रेस नेता प्रदीप पौडेलले पनि छानबिनको दायरामा आउनुपर्ने लामिछाने नै गृहमन्त्री बन्दा सहकारी पीडितले न्याय पाउनेमा आफूहरूको शङ्का रहको बताए। लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिनको माग यथावत् रहेको पौडेलले बताए।

गृहमन्त्री लामिछानेले भने सहकारी ठगी गरेको प्रमाणित गर्न काँग्रेसलाई चुनौती दिएका छन्। उनले सहकारी बचतकर्ताको रकम ब्याज सहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा समेत गरे।

संसद्को रोष्टममा उभिएर काँग्रेसले गरेका प्रश्नको जवाफ ९ मिनेट १८ सेकेन्डमा दिने उनले बताए। काँग्रेस महामन्त्री गगन थापा लक्षित अभिव्यक्ति दिँदै लामिछानेले आफूमाथि लागेका आरोपबारे काठमाडौं क्षेत्र नं ४ मै सार्वजनिक रूपमा दिने मन भएको सुनाए। उनले काँग्रेस आफूले खनेको खाल्डोमा आफै पर्ने बताए।

देशमा सुशासनको जबरजस्त अभियान चलाएको बताएका गृहमन्त्री लामिछानेले भ्रष्टाचारीलाई उम्काउनु परे एक मिनेटमा राजीनामा दिएर सरकारबाट बाहिरिने बताए।

लामिछाने गृहमन्त्री बन्ने बित्तिकै सुर्यदर्शन सहकारी ठगी प्रकरणमा बेपत्ता भएका जीवी राई पक्राउ पर्ने हल्ला चलेको थियो। तर, लामिछाने गृहमन्त्री बनेको १४ औँ दिनसम्म जीवी बेपत्ता छन्। जीवीसँगै लामिछानेमाथि सहकारी बचतकर्ताले बचतफिर्ताको माग गर्दै उजुरी दिएका छन्।

लामिछानेले भने आफू सहकारी ठगीमा नमुछिएको प्रष्टीकरण दिँदै आएका छन्। लामिछानेले जीवी राईलाई आकाशमा भए पनि पातालमा भए पनि खोजेर ल्याउने प्रतिबद्धता नै जनाएका छन्।

सुन तस्करी प्रकरणमा परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हाजिरी जमानीमा रिहा भएकोमा भने बचाउ गरे।

समाचार शेयर गर्नुहोस्
312
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.