केटीकेटीले विवाह गरेको भन्दै कुटपिट, गाउँलेले गरे उद्धार

केटीकेटीले विवाह गरेको भन्दै कुटपिट, गाउँलेले गरे उद्धार

कैलाली : कैलालीको मोहन्याल गाउँपालिका सोल्टामा समलिङ्गी जोडीमाथि निर्घात कुटपिट भएको छ। १७ वर्षकी परिवर्तित नाम राधिका विक र १६ वर्षकी लक्ष्मी सुनारलाई समलिङ्गी विवाह गरेको भन्दै परिवार तथा आफन्तले कुटपिट गरेका हुन्।

राधिकाले लक्ष्मीसँग भागी विवाह गरेपछि लक्ष्मीको परिवार र आफन्तले कुटपिट गर्दा दुवै जना घाइते भएका छन्। दुवै छिमेकी हुन्। शुक्रवार राधिकाले लक्ष्मीलाई भगाएर आफ्नो घर लगेकी थिइन। उनीहरूले आफूहरू एकअर्का बिना बाच्न नसक्ने बताए पछि गाउँलेले उद्धार गरेर प्रहरी चौकी पुर्‍याएका थिए।

मोहन्याल गाउँपालिकाका अवकाश प्राप्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैसीले सोल्टा प्राथमिक स्वास्थ्य केन्द्रमा दुवैको उपचार भएको बताए। उपचार पछि प्रहरी चौकी लगिएको उनले बताए। जैसीका अनुसार अहिले दुबैलाई परिवारले घर लगेका छन्। उनीहरूमाथि अहिले कुटपिट नभएको उनले बताए।

समलिङ्गी जोडी राधिका र लक्ष्मी अहिले सुरक्षित रहेको मोहन्याय गाउँपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर शाहीले बताए। ‘लक्ष्मीका आफन्तले कुटपिट गरेछन्, दिउँसो प्रहरी चौकीमा छलफल भएको भन्ने जानकारी छ,’वडा अध्यक्ष शाहीले पहिचानसँग भने,‘विस्तृत जानकारी मैले पनि पाउन सकेको छैन।’

राधिकाको परिवारले स्वीकारेको छ। तर, लक्ष्मीको परिवार स्विकार्न तयार नहुँदा कुटपिटमा उत्रिएको भिडियो सार्वजनिक भएको छ। दीपक रावलले फेसबुकमा राखेको भिडियो भाइरल नै बनेको छ।

लक्ष्मीलाई परिवारले लात्तालात्ताले कुटपिट गरे पछि गाउँलेले उद्धार गरे। दिनभर मोहन्यालको सोल्टामा लफडा भएको स्थानीयले बताएका छन्। उमेर भने दुवैको पुगेको छैन। तर, उनीहरूले आफूहरूलाई नछुटाउन भनेका छन्।

नेपालमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता हुन थाले पनि मोहन्यालको सोल्टामा भने कुटपिट भएको हो। समलिङ्गी जोडीमाथि भएको हिंसाको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले विरोध गरेका छन्।

नेपालमा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले समलिङ्गी जोडीमाथि भएको कुटपिटको घटना निन्दनीय रहेको बताएको छ। ‘यसरी मान्छेको मानव अधिकार हनन गर्ने छुट कसैलाई छैन,’मायाको पहिचान नेपालले भनेको छ,‘विवाह गर्ने राधिका र लक्ष्मीको ज्यानको सुरक्षा गरी कुटपिट गर्नेलाई कारबाही गर्न हामी प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.