इलाममा सुवासको विरासत जोगाउने जिम्मा सुहाङलाई, ओलीले दिए आर्सीवाद

इलाममा सुवासको विरासत जोगाउने जिम्मा सुहाङलाई, ओलीले दिए आर्सीवाद

काठमाडौं : राजनीतिक दलहरूलाई उपनिर्वाचन लागेको छ। सुवास नेम्वाङको निधन भएकाले रिक्त रहेको इलाममा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न दलहरू छलफलमा व्यस्त भएका छन्।

सत्तारुढ दलबाट नेकपा एमालेले मात्रै उम्मेदवारको टुङ्गो लगाएको छ। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार छानेका छैनन्। एमालेले सुहाङ नेम्वाङलाई नै सत्तारुढ दलको साझा उम्मेदवार बनाउने प्रयास समेत थालेको छ।

एमाले मुख्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले इलाममा हुने उपनिर्वाचनका लागि एमाले नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

३२ वर्षका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले सहयोग गर्न अपिल गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गरे।

एमालेले अन्य नेतालाई इलाममा उम्मेदवार बनाएमा जनमत गुमाउने देखेपछि सुहाङलाई नै उम्मेदवार बनाएको हो। एमालेले यसअघि नै नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरिसकेको छ।

बुबा सुवासको निधनमा गत २ असोजमा इलाममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सुहाङले भनेका थिए ‘बुवाले अधुरो छोडेका कार्यहरू पुरा गर्नुपर्ने कार्यहरूमा म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढ्न सकिन्छ हजुरहरूसँग हातेमालो गरेर अगाडि बढौँ भनेर म निवेदन गर्न चाहन्छु।’

राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरू, पूरा गर्नुपर्ने कार्यहरूमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हातेमालो गरेर अगाडि बढ्न चाहेको उनले बताएका थिए।

पार्टीले पनि बुवाको विरासत जोगाउने जिम्मा छोरा सुहाङलाई नै दिएको छ। उपनिर्वाचनमा उम्मेदवार बन्ने पक्का भएपछि सुहाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आर्सीवाद लिएका छन्। सुहाङ बेलुकी ओलीलाई भेट्न बालकोट पुगेका थिए।

सत्तारुढबाट एकाएक प्रतिपक्षमा पुगेको काँग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। सकेसम्म अन्य पार्टीबाट साथ पाए गठबन्धन बनाएर चुनाव लड्ने नभए एक्लै लड्ने मनस्थितिमा काँग्रेस रहेको देखिएको छ।

इलामका जनता र अन्य नेताहरूको भावना अनुसार उम्मेदवार उठाउने बताएको काँग्रेसले उम्मेदवार छान्ने सम्पूर्ण अधिकार सभापति शेर बहादुर देउवालाई दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्राइमरी ईलेक्सनमार्फत उम्मेदवारको टुङ्गो लगाउने बताएको छ। चैत्र १६ गते अन्तिम उम्मेदवार दाबी गर्ने दिन रहेकाले त्यसपछि उम्मेदवारहरुसंग बसेर छलफल गर्ने र १७ गतेसम्म टुङ्गो लगाउने रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी)ले सोमबारसम्ममा उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ। सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने वा नउठाउने भन्ने निर्णय लिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading