देउवा फेरि प्रचण्ड फकाउँदै

देउवा फेरि प्रचण्ड फकाउँदै

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। देउवा बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।

भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै आएको छ।

काँग्रेसले छानबिन नसकिएसम्म लामिछानेलाई पदबाट हट्न दबाब दिँदै आएको छ। लामिछाने पदबाट हटेसँगै गठबन्धनमा खटपट आउने आकलन काँग्रेसको छ। त्यही कारण प्रचण्डले नयाँ गठबन्धन बनाउँदा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको काँग्रेस अहिले छानबिन समिति गठन हुनै पर्ने अडानमा छ।

प्रचण्डले गठबन्धन तोडेपछि चिढिएको काँग्रेसले एमाले र रास्वपालाई सरकार बाहिर ल्याउने प्रयासमा लागेको छ। काँग्रेस सभापति देउवा अहिले फेरि प्रचण्ड फकाउन लागेका छन्।

इलाम २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचण्ड र देउवाबीच गठबन्धन तोडेपछि पहिलो पटक भेट भएको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ।

बिहान देउवासँग छलफल गरेपछि दिउँसो बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरी उथलपुथलको सम्भावना सुनाएका छन्। प्रचण्डले अर्को उथलपुथल गर्न बेर नलाग्ने बताएका हुन्।

देउवा र प्रचण्डको भेटमा संवैधानिक निकायमा नियुक्तिबारे पनि छलफल भएको स्रोतले बताएको छ। प्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाए लगत्तै भएको भेटमा नियुक्तिबारे छलफल भएको हो। प्रचण्डले आइतबार बिहान ९ बजेका लागि परिषद् बैठक बोलाएका छन्।

परिषद् बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ। एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्‌मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ।​ परिषद्को नयाँ संरचनामा काँग्रेसले प्रवेश पाएको छ भने एमाले पृष्ठभूमिका पदाधिकारीको सङ्ख्या घटेको छ।

देउवा-प्रचण्डको भेट हल्ला मात्रै

विपक्षी दलका नेताका रूपमा संवैधानिक परिषद्‌मा काँग्रेस सभापति देउवा उपस्थित हुनेछन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदै छन्।

आसन्न उपनिर्वाचनमा साझा उम्मेदवारका सन्दर्भमा सत्तारुढ दलहरू एक मत हुन नसकेको र परिषद् बैठक बस्ने मिति तय गरिसके पछि दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर, प्रधानमन्त्रीको सचिवालय भने संसदमा विचाराधीन विधेयक र संसद्को अवरोध हटाउने लगायतका विषयमा छलफल भएको बताएको छ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन अवस्थामा छ।

गत फागुन २१ मा काँग्रेससँग सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई धोका दिएको काँग्रेसको आरोप छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading