प्रचण्डको अस्थिर अभिव्यक्ति, लामिछानेले सुनाए ‘जेल जाने योग’

प्रचण्डको अस्थिर अभिव्यक्ति, लामिछानेले सुनाए ‘जेल जाने योग’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर बनेको आरोप लाग्दै आएको छ। आफूमाथिको आरोपलाई बल पुग्ने गरी प्रधानमन्त्री प्रचण्डका अभिव्यक्ति सार्वजनिक भइरहेका छन्।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका प्रचण्ड एक महिना नपुग्दै फेरि उथलपुथल गर्न बेर नलाग्ने बताउन थालेका छन्। काठमाडौँमा भएको २४ औँ जेलब्रेक स्मृति दिवसको कार्यक्रममा प्रचण्डले जोखिम र चुनौतीकाबीच घेरा तोड्ने प्रयास जारी राखेको बताए।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संसद्मा तेस्रो ठुलो दल हो। पहिलो र दोस्रो दललाई पालैपालो सरकारमा सहभागी गराएर अध्यक्ष प्रचण्ड १५ महिनादेखि प्रधानमन्त्रीमा कायम छन्।

इलाम उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचण्डले उथलपुथल र घेरा तोड्ने अभिव्यक्ति दिए पछि गलहत्त्याएर निकालिएको काँग्रेस फेरी सरकारमा जान हौसिएको छ। काँग्रेस नेता डा. शेखर कोइरालाले केही महिनामै सत्ता समीकरण फेरिने भविष्यवाणी नै सुनाएका छन्।

गठबन्धन फुटाउन काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेको छ।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा काँग्रेसले सहकारी ठगीमा मुछिएका लामिछानेमाथि छानबिन गर्न समिति गठनको अडान राखेको छ।

अहिलेसम्म सरकार समिति गठन गर्न तयार नभएकाले आइतबार पदाधिकारी बैठक बसेर निर्णय गर्ने काँग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले बताइन। काँग्रेसको अडानका कारण गृहमन्त्री लामिछानेले पेस गर्ने भनिएको राजनीति दलसम्बन्धी विधेयक तत्काल पेस नहुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने काँग्रेस समिति गठनको मागबाट पछि हट्ने दाबी गरेको छ। उसले सहकारी ठगीको उजुरी आरोप मात्रै भएको बताउँदै आएको छ। लामिछाने काँग्रेसले माग गर्दैमा राजीनामा नदिने अडानमा कायम छन्।

लामिछानेमाथिको आरोप सत्ता राजनीतिसँग जोडिएको छ। अरूलाई आरोप लगाउने रास्वपा अहिले आफैँ जवाफ दिँदै हिँड्नु परेको छ। सुर्यदर्शन सहकारीका बचतकर्ताको बचत हिनामिनामा सभापति एवं गृहमन्त्री लामिछाने मुछिए पनि रास्वपाका नेताहरू भने अरूमाथि आरोप लगाएर पानी माथिको ओभानो बनिरहेका छन्।

इलाममा भएको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा रास्वपा नेता रमेश प्रसाईँले सहकारी ठगीमा मुछिएका सभापति लामिछानेको प्रसङ्ग नै उल्लेख नगरी बालुवाटार काण्डमा कोही नेता नमुछिएको सुनाए।

सत्ता गठबन्धन पुरै शक्ति लगाएर लामिछानेमाथि थप अनुसन्धान अघि नबढाउने रणनीतिमा लागेका छन्। प्रहरी महानिरीक्षक वसन्त कुँवरले समेत सामान्य उजुरी भनेर लामिछानेलाई उन्मुक्ति दिएका छन्। तर, लामिछाने स्वयं भने राम्रोसँग अनुसन्धान भए जेल जाने योग देखेको सुनाउँछन्।

इलामको चुनावी प्रचारमा गृहमन्त्री लामिछानेले भ्रष्टाचारविरुद्ध कुचो चलाउन सुरु गरेको बताए। काठमाडौँको धुलो इलामसम्म पुग्ने भन्दै मास्क लगाउन उनले सुझाव दिए।

इलामको चुनावलाई पुराना र नयाँ दुवैले प्रतिष्ठाको विषय बनाएका छन्। सत्ता गठबन्धनमा सँगै भए पनि रास्वपाले चुनावमा सहकार्य नगरे पछि एमाले झस्किएको छ। एमाले अब माओवादी र एकीकृत समाजवादीको समर्थन पाउने आशामा छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले यो पटक माओवादीको घाँस र कुँडो खान नपाउने बताउँदै अन्तिममा माओवादीको समर्थन एमाले उम्मेदवारलाई हुने दाबी सुनाएका छन्।

काँग्रेस, एमाले र माओवादीलाई रास्वपा चुनौती बनेर उभिएको छ। काँग्रेस र एमालेलाई पार्टीको विरासत जोगाउन माओवादीको समर्थन लिनै पर्ने बाध्यता छ भने माओवादीलाई पनि दुई मध्ये एकसँग अङ्कमाल नगरी सुखै छन्। तर, सबै पुराना दल मिले पनि रास्वपाले २०८४ को चुनावमा १ सय ५० सिट जित्ने दाबी रास्वपा सांसद स्वर्णिम वाग्लेले गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading