प्रहरीले काले सार्की भनेर पक्राउ गरेका व्यक्ति कृष्णबहादुर, थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रहरीले काले सार्की भनेर पक्राउ गरेका व्यक्ति कृष्णबहादुर, थुनामुक्त गर्न सर्वोच्चको आदेश

192
SHARES

काठमाडौँ : सर्वोच्च अदालतले मानव बेचबिखन मुद्दामा २० वर्षको कैद कार्यान्वयनका लागि पक्राउ परेका कृष्णबहादुर सार्की काले सार्की नभएको भन्दै उनलाई रिहा गर्न आदेश दिएको छ।

सिन्धुपाल्चोकका अम्बरबहादुर पुर्कुटीले मानिसको पहिचान नै नगरी काले सार्कीको नाउँको कैदमा आफ्नो बुबा कृष्णबहादुर सार्कीलाई पक्राउ गरी थुनामा राखेको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी परेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीमाथिको पक्राउ गैरकानुनी भएको ठहर गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्रतिवादी काले सार्कीलाई अन्तिम फैसला समेतबाट ठहर भएको २० वर्ष कैद कार्यान्वयनका लागि अर्को व्यक्ति पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट यही फागुन ११ गते कैद पुर्जी दिइएको कार्य नै गैरकानूनी भएको ठहर गरेको छ।

मानव बेचबिखनको मुद्दाको मिसिल अध्ययन गर्दा, प्रहरी प्रतिवेदनमा काले सार्कीविरुद्ध अभियोजन गरिएको देखिन्छ । काले सार्की भन्ने कृष्णबहादुर सार्की हुन् भन्ने सो मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न नआएको अदालतले उल्लेख गरेको छ।

‘यी निवेदकको नागरिकताको प्रमाणपत्रबाट निजको नाम कृष्णबहादुर सार्की भन्ने देखिन्छ। सुरु अदालतको लगत पनि काले सार्कीको नाउँमै कसिएको अवस्था छ। कैद कार्यान्वयनका लागि पठाएको कैदी पुर्जीमा उल्लिखित काले सार्की र यी निवेदक एउटै व्यक्ति हुन भन्ने सम्बद्ध मानव बेचबिखन मुद्दालगायत कुनै पनि ठोस, वस्तुनिष्ठ, निश्चयात्मक र भरपर्दो प्रमाणबाट देखिन/स्थापित हुन आएको छैन’, आदेशमा भनिएको छ ।

आदेशमा कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएको अवस्थामा शङ्का र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राखे कार्यले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्ने र त्यसरी थुनामा राखे कार्यलाई कानुन बमोजिमको थुनाको संज्ञा दिन नमिल्ने उल्लेख छ।

व्यक्तिको स्पष्ट पहिचान नगरी थुनामा राखे कार्यलाई कानुनी रूपमा थुनामा राखेको भन्न नमिल्ने मात्र होइन व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरित हुने गरी प्रवृत्त धारणाकै रूपमा थुनामा राखेको मान्नुपर्ने अदालतले जिकिर गरेको छ।

आदेशमा भनिएको छ, ‘तहतह हुँदै उक्त मुद्दा सर्वोच्च अदालतबाट २०४२ जेठ १२ मा अन्तिम फैसला भएको थियो । मुद्दामा सजाय पाएका काले सार्की र हाल सोही काले सार्की भनी थुनामा रहेका निवेदक बन्दी कृष्णबहादुर सार्की एकै व्यक्ति हुन भन्ने प्रमाणबाट पुष्टि हुन नआएको अवस्थामा निजलाई राखिएको थुना वैध वा कानुनी थुना भन्न नमिली गैरकानूनी थुना देखिन आएकाले थुनामुक्त हुने ठहर्छ।’

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.