समाजवादी मोर्चा : गन्तव्य विहीन यात्राको नारा मात्रै

समाजवादी मोर्चा : गन्तव्य विहीन यात्राको नारा मात्रै

काठमाडौं : सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले समाजवाद ल्याउन सडक सङ्घर्षको धम्की दिएका छन्। १५ महिनामा तीन पटक गठबन्धन अदलबदल गरेका प्रधानमन्त्री प्रचण्डले जोखिम मोलेर देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको भन्दै समाजवादको जन्म सडकबाट हुने बताए।

समाजवादी मोर्चाले काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सडक नै समाजवाद जन्माउने थलो भएको बताए। सरकारी सेवा प्रभावकारी बनाउन नसकेका प्रधानमन्त्री प्रचण्डले हरेक पटक सडक सङ्घर्षको धम्की दिँदै आएका छन्।

समाजवादी मोर्चाका तीन दल सरकारमा सहभागी छन् भने विप्लव नेतृत्वको नेकपा सडकमै छ। सत्ता गठबन्धनको नेकपा एमालेले मोर्चामा सहभागी हुन अस्वीकार गरेको छ।

मोर्चाले गरेको कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले समाजवादको नारा घन्काउनेहरूबिच नै एकता नभएको बताए। आफ्नो स्वार्थ भन्दा माथि उठ्ने हिम्मत समेत नभएको उनले उल्लेख गरे।

भाषणबाट मात्रै समाजवाद नआउने बुझेका स्वयं नेताहरू दलीय स्वार्थका लागि विभिन्न नामका मोर्चा बनाएर आफू अनुकूल प्रयोग गरिरहेका छन्। समाजवादी मोर्चाको बाटो कता हो नै प्रस्ट छैन। बाटो बिनाको यात्राले लक्ष्यमा नपुर्‍याउने मोर्चाको कार्यक्रमका वक्ता मनोज भट्टले बताए।

काँग्रेसको सत्ता यात्राकै क्रममा चार दलले समाजवादी मोर्चा गठन गरेका हुन्। उतिबेला काँग्रेस मोर्चामा थिएन भने अहिले सत्ता सहयात्री एमाले मोर्चामा सहभागी छैन।

प्रधानमन्त्री प्रचण्डले सत्ता बार्गेनिङ पावरका लागि मात्रै मोर्चा बनाएको आरोप लाग्ने गरेको छ। मोर्चाले समाजवादको नारा लगाइरहे पनि समाजवादका लागि आवश्यकता उत्पादन गर्न नसकिएको मोर्चाका नेता दीपेन्द्र झाले बताए।

राजनीतिक दलहरू सत्ता लुछाचुँडीमा व्यस्त बनिरहँदा जनतामा वितृष्णा बढ्दै गएको छ। संविधान जारी भएको ८ वर्ष पुग्दा समेत तिनै नेताहरू संविधान संशोधनको नारा घन्काइरहेका छन्। मधेसवादी दलको रूपमा उदाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानबाट समाजवाद नै नआउने सुनाए।

यादव अहिलेकै संविधान अनुसार पटकपटक उपप्रधानमन्त्री एवं मन्त्री भने बनिरहेका छन्। उनी अहिलेको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेका छन्। देशमा भ्रष्टाचार मौलाएको छ। नेता मात्रै होइन कार्यकर्ता समेत भ्रष्ट बनेका छन्।

नेताहरूले कार्यकर्ता भ्रष्ट भएको जानकारी पाए पनि उनीहरूकै संरक्षणमा लाग्नु पर्ने बाध्यता छ। नेता भन्दा पहिलो जनतामा पुग्ने तिनै कार्यकर्ता हुन्।

सरकारमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट पार्टीमा भएको भ्रष्टिकरण रोक्न सकेका छौँ? भनेर प्रश्न गरे।

माधव नेपाललाई जवाफ फर्काउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेकाले क्रान्तिकारी भाषण गर्न नमिल्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading