एमाले-माओवादी सहमति : इलाममा पालना, बझाङमा धोका

एमाले-माओवादी सहमति : इलाममा पालना, बझाङमा धोका

एक्लै पर्दा देउवालाई पीडा

काठमाडौं : इलाममा प्रतिनिधिसभातर्फ र बझाङमा प्रदेशसभातर्फ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि इलाम २ मा २० जना र बझाङ १ मा १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

इलाममा ८ जनाले स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन्। बझाङमा भने राजनीतिक दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। इलाममा एमाले उम्मेदवारको समर्थनमा उम्मेदवारी नदिएको माओवादी बझाङमा एमालेको पनि उम्मेदवारी परेपछि झस्किएको छ।

सत्ता गठबन्धनका एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति भएको थियो। माओवादीले इमानदारी कायम गरेर इलाममा उम्मेदवारी नदिए पनि बझाङमा एमालेबाट बेइमानी भएको माओवादीका एक नेताले बताए।

बझाङमा एमालेले दिएको उम्मेदवारी फिर्ता नभए गठबन्धनमै खटपट आउन सक्ने माओवादीले चेतावनी दिएको छ। सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीले भने इलाम र बझाङ दुबैमा उम्मेदवारी दिएको छ। सरकारमा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा उम्मेदवारी दर्ता गरेको छ।

इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ उम्मेदवार र ८ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। इलाममा महिला उम्मेदवार शून्य भएको छ। कुनै पनि राजनीतिक दलले महिलालाई उम्मेदवार नै बनाएनन्।

बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा भने १२ दलका १२ जनाको मात्रै उम्मेदवारी परेको छ। इलाममा पुरुषको मात्रै उम्मेदवारी पर्दा बझाङमा एक महिला चुनावी मैदानमा होमिएकी छन्।

उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारसहित स्वतन्त्रहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका नेकपा एमालेबाट स्वर्गीय सुवास चन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट गत चुनावमा नेम्वाङसँगै पराजित डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराए।

सत्ता गठबन्धनको माओवादी केन्द्रले एमालेलाई सघाउँदा नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराए। स्वतन्त्र उम्मेदवारमा डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतमसहित आठ जना छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्।

काँग्रेसका उम्मेदवार खड्काले पनि इलाममा आफूले गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गरेका छन्। उनले मतदातातर्फ लक्षित गर्दै गठबन्धन पार्टीबीच भए पनि व्यक्तिव्यक्तिबीच गठबन्धन हुँदैन भनेका छन्।

रास्वपा उम्मेदवार मिलन लिम्बुले अरू उम्मेदवार भन्दा बढी आफू इलामको भूगोलसँग परिचित रहेको तर्क गर्दै आफूले जित्ने दाबी सुनाएका छन्।

बझाङमा प्रदेशसभा सदस्य बन्ने होडमा नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीको उम्मेदवारी परेको छ।

नेपाल जनता दलबाट अशोक सुनार, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खडका र जनमत पार्टीबाट सुशीला देवी विष्टको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। काँग्रेस उम्मेदवार अभिषेक मृतक सिंहका छोरा हुन्।

काँग्रेस एक्लै

गठबन्धन संस्कृतिको विकास गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचन एक्लै लड्नु पर्ने अवस्था आएको बताएका छन्।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडिएपछि एक्लै चुनाव लड्नु परेको भन्दै सभापति देउवाले कम्मर कसेर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

काँग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा देउवाले काँग्रेसजन एक ढिक्का भएर समझदारी र समन्वयका साथ अघि बढ्नु पर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading