इजरायल-इरान युद्ध : नेपाली नागरिक सुरक्षित, घरबाट बाहिर ननिस्कन सूचना जारी

इजरायल-इरान युद्ध : नेपाली नागरिक सुरक्षित, घरबाट बाहिर ननिस्कन सूचना जारी

काठमाडौं : सरकारले इजरायलमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ। इरानले बिहानै देखि इजरायलमा ड्रोनबाट आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।

यसअघि हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिएपछि हलचल मच्चिएको इजरायल नेपालीका लागि असुरक्षित बनेको थियो। बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ। केही समय मत्थर बनेको इजरायलमा फेरि इरानबाट आक्रमण हुन थालेपछि विश्व नै चिन्तित बनेको छ।

हमासले गरेको आक्रमणपछि लडाइँ चर्किएकै अवस्थामा इरानबाट पनि हमला भएपछि अवस्था थप गम्भीर बन्न सक्ने भन्दै इजरायलमा रहेका नेपालीका परिबार चिन्तित बनेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राई भने चिन्ता गरिहाल्नु पर्ने अवस्था नरहेको बताउँछन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार हाल इजरायलमा ४ हजार ५ सय नेपाली ’केअरगिभर’को रूपमा कार्यरत छन्। २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएकामा हमासको आक्रमणपछि सरकारले २५० जनाभन्दा बढीलाई उद्धार गरेर नेपाल ल्याएको थियो।

इरानले इजरायलमा गरेको हमलाको नेपालले निन्दा समेत गरेको छ। परराष्ट्रले विज्ञप्ति निकालेर सम्बन्धित पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको प्रवक्ता राईले जानकारी दिए।

इजरायलमा इरानले ड्रोन आक्रमण गर्न थालेपछि राजदूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ।

तेल अभिव स्थित नेपाली दूतावासले सूचना जारी गर्दै कुनै पनि भेला, सभा–सम्मेलन नगर्न तथा नगराउन आग्रह गरेको छ। इजरायलमा सोमबार राती ११ बजेसम्म लागू हुने गरी सबै शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नेपालीलाई राजदूतावासले एड्भाईजरी जारी गरेको छ।

अमेरिकामा आक्रमण गर्ने धम्की

इजरायलमा इरानले गरेको आक्रमणको विश्वभरबाट निन्दा हुन थालेको छ। गत अप्रिलमा सिरियास्थित इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलामा इजरायलको हात रहेको भन्दै इरानले कारबाही स्वरूप ड्रोन हमला गरेको हो।

आइतबार बिहानै देखि इरानले इजरायलमा ३ सय भन्दा बढी ड्रोन आक्रमण गरेको छ। इरानी हमलालाई लिएर नेपाल, क्यानडा, फ्रान्स, जापान भारत र बेलायतले निन्दा गरेको छ। तर इरानको आक्रमणलाई सिरिया र हुथीहरूले भने समर्थन गरेका छन्।

सिरियाली विदेश मन्त्रालयले इरानको आक्रमणलाई ‘आत्मरक्षाको वैध अधिकार’ भनेर टिप्पणी गरेको छ। इरानको आक्रमण लगत्तै इजरायलले प्रतिक्रिया दिँदै इरानबाट भएको हमलाको मूल्य चुकाएरै छाड्ने बताएको छ।

इरानले पनि इजरायलबाट जवाफी हमला भए अर्को ठुलो आक्रमण गर्ने धम्की दिएको छ। इरानले इजरायल युद्धबाट अमेरिकालाई टाढै बस्न समेत भनेको छ। अमेरिकाले इजरायललाई सहयोग गर्ने बचन बाहिरिए लगत्तै इरानले आन्तरिक मामिलामा अमेरिकालाई टाढै बस्न भनेको हो।

अन्यथा अमेरिकामाथि सैन्य कारबाही गर्ने इरानले चेतावनी दिएको छ। रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा इरानको हितमा हानि पुर्‍याउने वा त्यस्ता मानिसहरूलाई समर्थन गरेमा त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading