गृहमन्त्री लामिछानेले सहकारीको २ करोड अपचलन गरेको पुष्टि, प्रहरी र सरकारी वकिल प्रतिवादी बनाउन डराए

गृहमन्त्री लामिछानेले सहकारीको २ करोड अपचलन गरेको पुष्टि, प्रहरी र सरकारी वकिल प्रतिवादी बनाउन डराए

सरकारी वकिलको जवाफ : यो विषयमा धेरै बोल्न उपयुक्त हुन्न

काठमाडौं : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ लिएको देखिएको छ।

सुप्रिम सहकारी संस्थाले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक समिति सदस्य समेत रहेका गृहमन्त्री लामिछानेको ग्लोबल आईएमई बैङ्कको खातामा सेवा शुल्क बापत ४ लाख रुपैयाँ कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ गएको लेखा परीक्षण प्रतिवेदनमा देखिएको हो।

सुप्रिममा भएका सागर के.सी.को बचत खाताबाट लामिछानेले १३ लाख रुपैयाँ कारोबार गरेको समेत देखिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सोमबार जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा संस्थाको बचत सदस्य लामिछानेको नाममा कुनै प्रक्रिया पुरा नगरी ऋण लगानी गरेको देखिएको उल्लेख छ।

लामिछानेको ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गरिदिने रोशनी गुरुङ्गको नाम अभियोग पत्रमा उल्लेख छ। सागर केसीलाई फरार अभियुक्त बनाइएको छ भने रोशनी गुरुङ्गलाई सोमबार नै पक्राउ गरिएको छ।

तर, गृहमन्त्री भएकै कारण लामिछानेले भने उन्मुक्ति पाएका छन्। शक्ति र सत्ताको आडमा सहकारीको रकम अपचलन गरेको अनुसन्धान प्रतिवेदनले पुष्टि गर्दा पनि प्रहरी र सरकारी वकिलको कार्यालय लामिछानेलाई प्रतिवादी बनाउन डराएका छन्।

लामिछानेको बारेमा धेरै बोल्न उपयुक्त नहुने सरकारी वकिलको कार्यालयका प्रमुख मुक्तिराम सुवेदीले बताए। मिडियाहरूमा लामिछानेमाथि आरोप लागेर मात्रै नहुने भन्दै उनले पुष्टि हुने प्रमाण नभेटिएको दाबी गरे। उनले पीडितहरूको थप उजुरी आएमा पूरक अभियोग पत्र दर्ता हुने सम्भावना भने रहेको बताए।

कार्यालयले लामिछानेका बिजनेस पार्टनर जीवी राई सहित २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रतिवादीहरूबाट ८६ करोड १८ लाख ७२४ रुपैयाँ बिगो माग दाबी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता सुवेदीले जानकारी दिए। उनका अनुसार प्रतिवादीहरूको अदालती बयान मङ्गलवारबाट सुरु हुने छ।

यसै मुद्दाका थप एक प्रतिवादी गृहमन्त्री लामिछानेको खातामा रकम जम्मा गरिदिने रोशनी गुरुङ्गसँगै पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको छ। जसमध्ये २ जना अदालतको आदेशले जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका छन् भने ६ जना रुपन्देही प्रहरीको हिरासतमा छन्।

कास्कीमा थुनामा रहेका कुमार रम्तेल र भविश्वर अर्याल पनि प्रतिवादी छन्। यस्तै, प्रतिवादीमध्येका सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईँ पाण्डे, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, दीपक न्यौपाने र निता थापा यस अघि नै पक्राउ परेका थिए भने लामिछानेको खातामा रकम जम्मा गरिदिने रोशनी सोमबार मात्र पक्राउ परेका जिल्ला न्यायाधिवक्ता सुवेदीले जानकारी दिए।

संसद्को विरोधबाट लामिछाने मुक्त, सरकार भागेको काँग्रेसको टिप्पणी

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सोमबार जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा जीवी राईको नाममा पेस्की, कर्जा र उनको खातामा डिपोजिट भएको रकम ६ करोड ६५ लाख ६१ हजार देखिएको उल्लेख छ। यस्तै, पेस्की लगानी र विभिन्न व्यक्तिको नाममा कर्जा स्वीकृत गरी गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ साल ३६ हजार रुपैयाँ गएको अभियोग पत्रमा उल्लेख छ।

भूपेन्द्र बाबु राईको नाममा ३ करोड ३० लाख रकम कर्जा बनाई गोरखा मिडिया नेटवर्कको नामको पेस्की सेटल गरेको देखिएको उल्लेख छ। सहकारीका १८ सय २८ जना बचतकर्ताहरूले आफूहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बचत डुबेको जाहेरीमा उल्लेख गरेका छन्।

प्रतिवादी जीवी राई, ओमप्रकाश गुरुङ, सागर केसी, भूपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट ८१ करोड ५७ लाख ९६ हजार ५९ रुपैयाँ बिगो असुल गरी बचतकर्तालाई दिलाउन माग गरिएको छ। यस्तै, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध ३ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।

प्रचण्डलाई रविले सरकार छोड्ने भय, समिति नबनाउने अडान

प्रतिवादीमध्ये फरारको सूचीमा रहेका जीवी राईसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी गरी कारबाही गर्नसमेत अभियोग पत्रमा माग गरिएको छ। प्रतिवादीहरूलाई कसुर र बिगो अनुसार एक वर्षदेखि ८ वर्षसम्म कैद सजाय हुन माग गरिएको छ।

कैलालीमा आयोजित एक कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित अभिव्यक्ति दिएका छन्।

नेता, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने थापाले बताए। उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए।

अभियोगपत्र हेर्नुहोस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading