नयाँ गठबन्धनमा पार्टी फुटाएको रिस फेर्दै ओली, बिच्किए नेपाल

नयाँ गठबन्धनमा पार्टी फुटाएको रिस फेर्दै ओली, बिच्किए नेपाल

काठमाडौं : सत्ता गठबन्धनभित्रै झगडा परेको छ। नेकपा एमालेले हेपेको भन्दै नेकपा एकीकृत समाजवादी रिसाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएको रिस माधवकुमार नेपालमाथि पोख्दा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेपाली काँग्रेससँग अँगालो हाल्न पुगेको छ।

गठबन्धनभित्र ओली र नेपाल झगडामा उत्रिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउनै हम्मेहम्मे परेको देखिएको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मङ्गलवार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका छन्।

खनालले गठबन्धनमा देखिएको गडबडबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बताए। ‘बिहान भेट्न बालुवाटार गएको थिए,अहिले कार्यक्रममा छु,’खनालले पहिचानसँग भने,‘प्रधानमन्त्रीले बोलाएर बालुवाटार गए, अहिले फर्किसके।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिमा असन्तुष्ट एकीकृत समाजवादीले गठबन्धन तोड्दा सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा अन्योल देखिएको छ। भागबन्डालाई लिएर साझेदार दलहरूसँग एकीकृत समाजवादी रुष्ट बनेपछि यो समीकरणको भविष्यमाथि नै थप संशय पैदा भएको हो।

राष्ट्रियसभा उपाध्यक्ष पाउने सहमति गरेर सरकारमा सहभागी भएको एकीकृत समाजवादी सुदूरपश्चिमको नेतृत्व पनि नपाउने अवस्थामा पुगेपछि बिच्किएको हो। यससँगै वर्तमान सत्ता समीकरणबारे नै ‘रिथिङ्क’ गर्ने मनस्थितिमा नेकपा एकीकृत समाजवादी पुगेको छ।

समाजवादी गठबन्धनबाट बाहिरिए केन्द्रको सत्ता समीकरणमा रहेका दलहरूबाट कम्तीमा ४ वटा प्रदेश फुत्किनेछन्। गठबन्धन जोगाउन नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव समाजवादीसँग गरेको छ।

तर, समाजवादी काँग्रेससहितको विपक्षी गठबन्धनमा सामेल भइसकेको छ। प्रदेशसभामा ४ सांसद रहेको उसले काँग्रेससहितको गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको हो।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले केन्द्र सरकारमा बसेर प्रदेशमा भने भाग्ने कुरा ठिक नहुने बताए। पुरानो गठबन्धन सबै एकै ठाउँमा बसेर समाधान खोज्नुपर्ने बताउँदै आलोपालो मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादी तयार हुनुपर्ने उनले बताए।

एकीकृत समाजवादीका ४, काँग्रेसका १८, नाउपाका रेशम चौधरी पक्षका ५ र राप्रपाका १ जना सांसदको समर्थन लक्ष्मणकिशोरले प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्। केन्द्रको सत्ता समीकरणको तर्फबाट नाउपाकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। प्रदेश प्रमुख सांसदहरूको हस्ताक्षर सनाखतपछि बहुमत पक्षलाई मुख्यमन्त्री बनाउने तयारीमा लागेका छन्।

केन्द्रमा सत्ता साझेदारहरूसँग देखिएको एकीकृत समाजवादी मधेस, बागमती र लुम्बिनीमा पनि विपक्षी गठबन्धनमा सहभागी हुने तयारीमा छ। उसले समर्थन फिर्ता लिए यी तीन प्रदेशमा पनि वर्तमान सरकार ढल्नेछ।

मधेसमा सरकार टिकाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ तर ७ सांसद रहेको नेकपा एकीकृत बाहिरिए केन्द्रको सत्ता गठबन्धनको पक्षमा ५१ सांसद मात्र हुन्छन्। ११० सदस्यीय बागमती प्रदेशमा पनि सरकार टिकाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ।

नयाँ गठबन्धनमा गडबड, सुदूरपश्चिममा काँग्रेसलाई समाजवादीको साथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

केन्द्रमा समीकरण फेरिएपछि मधेस सरकारबाट चैत ५ गते नेपाली काँग्रेस बाहिरिएको थियो। सरकारबाट बाहिरिएसँगै चैत ९ गते काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो। १०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २५, नेपाली काँग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन्।

यस्तै नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन्। सत्ता समीकरणमा सल्किएको विवादको आगोमा एमाले अध्यक्ष ओलीले दिएका अभिव्यक्तिले भने अझ ‘घ्यू थप्ने’ काम गरेको छ।

पार्टी संसदीय दलको बैठकमा उनले काँग्रेसनजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउने गरी एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading