राष्ट्रपतिले विमानस्थल पुगेर कतारी राजाको स्वागत गर्ने, नेपाली सेनालाई सुरक्षाको जिम्मा

राष्ट्रपतिले विमानस्थल पुगेर कतारी राजाको स्वागत गर्ने, नेपाली सेनालाई सुरक्षाको जिम्मा

काठमाडौं : कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रदैछन्। कतारी अमिर थानीको भ्रमणलाई सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्।

मङ्गलवार साँझ ५ः३५ बजे काठमाडौं टेक्ने थानीलाई सरकारले हात्ती उपहार दिनेदेखि देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्ने कार्यक्रम तय भएको छ। थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल त्रिभुवन विमानस्थल जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए।

नेपाल आए लगत्तै कतारका राजा राष्ट्रपति कार्यालय शीतल निवास जाने कार्यक्रम रहेको छ। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ। राष्ट्रपति पौडेलले कतारी राजा थानीको स्वागतमा बेलुकी रात्रिभोजको आयोजना गर्नेछन्।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजाबीच द्विपक्षीय वार्ता हुनेछ। कतारी राजाको राजकीय भ्रमणका क्रममा विभिन्न सम्झौता हुने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

लगानी सम्मेलन अघि कतारका अमिर थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरूले बताएका छन्। कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली सङ्घका अभियन्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए।

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए।

थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले दिएका छन्।

सरकारले लगानीलाई सहजिकरण गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ। वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलन अघि नै अध्यादेश जारी गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading