यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

मासिक ५० हजार कमाउन सीप सिकाउने, सुविधाका लागि परिचयपत्र

मासिक ५० हजार कमाउन सीप सिकाउने, सुविधाका लागि परिचयपत्र

काठमाडौँ : रोजगारी नहुँदा बाटोमा जबरजस्ती यौन पेसामा संलग्न हुनु परेको अवस्था छ। सर्वसाधारणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बाटोमा उभिनुको कारण नबुझी यौन पेसामा लाग्छन् भनेर नकारात्मक दृष्टिकोणले हेर्ने गरेका छन्।

यसमा परिवर्तन ल्याउन समुदायलाई कर्तव्य सहितको अधिकारबारे जानकारी दिनुपर्ने मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले बताए। आफ्नो समुदायलाई सकारात्मक दिशामा लैजाने ठुलो आशा पनि केसीले व्यक्त गरे।

‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पछाडि पर्नुको मुख्य कारण समाजमा र आफ्नो घर परिवारमा स्वीकार्यता नहुनु हो। राज्यले पनि बेवास्ता गरेको अवस्थामा शिक्षा दिएर प्रोत्साहन गर्न सके समाजमा चेतना आउँथ्यो,’केसीले भने,’चेतनाले गर्दा समाज, परिवार र देशलाई नै परिवर्तन गर्न सक्थ्यौँ भन्ने मलाई लाग्छ।’

उपाध्यक्ष केसी काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको आर्थिक सहयोगमा अर्पण गरिबी निवारण संस्थाले आयोजना गरेको महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि सूचनाको हक सुनिश्चितता सम्बन्धी सशक्तीकरण कार्यक्रममा बोल्दै थिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे देशको राजधानी काठमाडौँमा नै जनचेतना पुग्न सकेको छैन। खान, लाउन र बस्नका लागि यो समुदायका व्यक्तिहरू राति हिँड्ने गरेको सुनाउँछन् महानगरपालिकाको सामाजिक विकास संयोजक तथा वडा नं १० का अध्यक्ष रामकुमार केसी।

घरमा आमाबुबाले नराख्ने, डेरावालले पनि बस्न नदिने बाध्यताले राति हिँड्ने गरेको उनले उल्लेख गरे। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई सीप मूलक तालिम दिएर पर्याप्त खान, लाउन र बस्न पुग्ने गराउन सके राति हिँड्न छोड्ने विश्वास केसीले गरे। यो समुदायलाई आफूले गर्न सक्ने, आफैले कमाएर खान सक्ने सीप मूलक तालिम दिनुपर्छ भनेर प्रस्ताव नै राखेको उनले जानकारी दिए।

२ हजार ८१ जनालाई रोजगार दिन काठमाडौँको टुँडिखेलमा रोजगार मेला भएको उनले बताए।’कार्यक्रम भइरहेको तपाईँहरूलाई याद छ होला, त्यो हाम्रै समन्वयबाट भएको हो,’उनले भने,’यो समुदायको मान्छेहरू अगाडि आउन अफ्ठयारो मान्ने, हामी पनि जान अफ्ठयारो मान्ने, अब लाज मानेर हुँदैन।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग साथी बन्न नहुने र बोल्न पनि नहुने भन्ने धारणा निकालेर फाल्नुपर्ने संयोजक केसीले बताए। ‘पुरुष पुरुषसँग, महिला महिलासँग विवाह गर्ने अधिकार हो, संविधानले सबैलाई अधिकार दिएको छ,’उनले भने,’स्थानीय सरकार अधिकार उपभोग गराउने काममा लागेको छ, प्रदेश र सङ्घ सरकारले पनि बाध्य भएर अधिकार दिनुपर्छ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई परिचयपत्र बनाएर अधिकारसहितको सुविधा दिनुपर्ने बताए। ‘परिचयपत्र दिएर सुविधा उपलब्ध गराउन प्रस्ताव गरेको छु,’उनले भने,’तपाईँहरू सङ्कोच मानेर लुकेर बस्ने कुरै छैन।’

२५/३० वर्ष अगाडि बाटोमा महिलालाई हिँड्न देख्न गाह्रो थियो। अहिले रातिमा पुरुष भन्दा बढी महिला नै हिँड्ने गरेको देखिन्छ। सामाजिक विकास संयोजक केसीले यो हक अधिकारकै कारण भएको बताए।

हक अधिकारले पनि कतिपय ठाउँमा दुर्घटना निम्तिएको केसीले उल्लेख गरे। ‘प्रहरी देख्नेवित्तिकै अल्पसङ्ख्यकहरू झोला छोडेर दौडेर हिँड्छन्,’उनले भने,’मान्छेले पनि लखेट्ने, पुलिसले पनि लखेट्ने, समाजले पनि लखेट्ने गरेको छ,अब यसमा परिवर्तन गर्नुपर्छ, त्यसको सुरुवात हामीले गरेका छौँ।’

उनले आउँदो आर्थिक वर्ष यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि राम्रै रकम छुट्टाउने प्रतिबद्धता जनाए। महिनामा ४०/५० हजार कमाउन सक्ने, खान र घर भाडा तिर्न सक्ने सीप सिकाउने प्रतिबद्धता पनि उनले जनाए। ‘तपाईँहरूले पनि सीप सिक्नुपर्छ,’उनले भने,’सीप सिकेर पनि अनैतिक काम गरेर हिँड्न चाहिँ पाइँदैन,आलोपालो मिलेर काम गरे यो सफल पनि हुन्छ।’

अर्पण गरिबी निवारण संस्थाकी अध्यक्ष अर्पणा खड्काले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग निरन्तर सहकार्य गर्ने बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गरिन्।

दुई दिने सशक्तीकरण कार्यक्रम सुरुवात मात्रै भएको बताउँदै अध्यक्ष खड्काले अबका दिनमा पनि निरन्तर सहकार्य हुने बताइन। उनले सबैभन्दा पहिला मानव अधिकार हुने भन्दै त्यसपछि मात्रै लिङ्ग, लैङ्गिकता, यौनिकताको कुरा आउने उल्लेख गरिन्।

कार्यक्रम सम्पन्न पछि मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचानको लडाइँका लागि साथ समर्थन दिनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको बताएको छ।

कानुनकी विद्यार्थी समेत रहेकी प्रशिक्षक करिना पुरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि वकालत गर्न तयार रहेको बताइन। उनले यो समुदायका लागि निःशुल्क वकालत गर्ने प्रतिबद्धता पनि जनाइन।

अर्पण गरिबी निवारणले कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षकहरूमार्फत दुई दिन सूचनाको हक सम्बन्धी सशक्तीकरण तालिम दिएको जनाएको छ। सहभागीहरूलाई संस्थाले प्रमाणपत्र पनि प्रदान गरेको बताएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.