प्रधानमन्त्री प्रचण्ड र भुटानका कृषिमन्त्रीबीच भएन शरणार्थीको कुरा

प्रधानमन्त्री प्रचण्ड र भुटानका कृषिमन्त्रीबीच भएन शरणार्थीको कुरा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा आएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।

भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्ने बताएका सचिवालयले जनाएको छ। उनले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्ने गरी नेपालले लिएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे।

तर, नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानबारे भने कुराकानी नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए। कुराकानी भएको यति हो,उनले भने,भुटानी शरणार्थीबारे कुराकानी भएन।

भुटानले प्रजातन्त्र र मानवअधिकारको माग गर्ने आफ्ना एक लाख भन्दा बढी नागरिकलाई सन् १९९० देखि मा देश निकाला गर्दै आएको छ। तेस्रो देश पुर्नवास नभएका ६ हजार भन्दा बढी भुटानी नागरिक नेपालको शरणार्थी शिविरमा आफ्नो देश फर्कन पाउने बाटो हेरेर बसेका छन्। तर, नेपाल सरकारले भुटानसँग शरणार्थी समस्याबारे कुराकानी नै गर्न छाडेको छ।

भुटानका कृषिमन्त्री जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन: विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा सहभागी हुन नेपाल आएका हुन्। बुधवार सुरु भएको सम्बादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.