गठबन्धनमा खटपट, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

गठबन्धनमा खटपट, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीसँग तारन्तार छलफल गरेका छन्। अध्यक्ष माधवकुमार नेपालको छटपटीले सत्ता गठबन्धनमा खटपट आउने शङ्का गरेका प्रचण्डले बालुवाटार र सिंहदरबारमा दिनभरजसो छलफल गरे।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारमा समर्थन गर्न नेपालसँग आग्रह गरे। तर, अध्यक्ष नेपालले प्याकेजमा सहमति गरे मात्र मधेस प्रदेश सरकार गठनमा सहयोग गर्ने जवाफ दिए।

आफ्नो पार्टी सत्ता साझेदार भए पनि महत्त्वपूर्ण निर्णयहरूमा बेवास्ता गरेको गुनासो अध्यक्ष नेपालले गरे। प्रचण्ड र ओलीसँगको छलफलपछि अध्यक्ष नेपालले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत सल्लाह नगर्ने तर सहयोग मात्र गर्नुपर्ने एकोहोरो रटान लगाइरहेको ब्रिफिङ पार्टी कमिटीमा गरेका छन्।

मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी छ। एमाले र माओवादीले नयाँ गठबन्धन अनुसार सरकार छाडे पनि एकीकृत समाजवादीले सरकार छाडेको छैन।

मुख्यमन्त्री यादव अल्पमतमा परेका छन्। उनले विपक्षी गठबन्धनसँगै एकीकृत समाजवादीको समेत समर्थन लिन छलफल तीव्र पारेका छन्। बुधवार उनले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने तयारी गरेका छन्।

विश्वासको मत लिनुअघि नै एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता बोलाउने एमाले र माओवादीको प्रयास प्रयासमै सीमित बनेको छ। एमालेले मधेसमा एकीकृत समाजवादीको र सुदूरपश्चिममा एकीकृत समाजवादीले एमाले र माओवादीको साथ खोजिरहेका छन्।

तर सोमबार दिनभर जसो भेटवार्ता र छलफल भए पनि सहमति जुट्न सकेन। सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिनु र माधव नेपालले प्याकेजमै सहमति नभए सरकारमा नबस्ने घुर्की लगाएपछि सत्ता गठबन्धनको खटपट बाहिर आएको छ।

तर, सत्तारुढ नेकपा एमालेले सत्ता गठबन्धन भित्र खटपटको हल्ला मात्रै भएको बताएको छ। संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरूको खटपट सुरु भयो भन्ने कुरा गलत हुने बताए। बर्तौलाले सरकारको गति रोक्न धूप बालेर बस्नेहरूको दिवा सपना पुरा नहुने बताए।

नेकपा माओवादी केन्द्रले पनि सत्ता गठबन्धनमा कुनै खटपट नभएको दाबी गरेको छ। माओवादी सांसद माधव सापकोटाले तत्काल गठबन्धन तलमाथि हुने स्थिति नरहेको दाबी गरे।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

प्रधानमन्त्री प्रचण्डले भने मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ। उनले चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्ने बचन दिएका छन्।

सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छैन। अहिले संस्कृति मन्त्रीमा माओवादी केन्द्रका हितराज तामाङ छन्।

उनलाई फिर्ता बोलाउने र चौधरीलाई नियुक्त गर्ने तयारी प्रचण्डले गरेका हुन्। प्रधानमन्त्रीको आश्वासन पाएको भन्दै चौधरीले आफू मन्त्री बन्ने प्रतिक्रिया दिएकी छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.