प्रतिनिधि सभामा उपसभामुख रानाले टुक्का सुनाउन भनेपछि…

प्रतिनिधि सभामा उपसभामुख रानाले टुक्का सुनाउन भनेपछि…

काठमाडौं : प्रतिनिधिसभा बैठकमा रोचक संवाद भएको छ। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्री वर्षमान पुन खोजेपछि बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानासँग रोचक संवाद भएको हो। 

अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने अडान लिएका लिङदेनलाई उपसभामुख रानाले पटकपटक बोल्न आग्रह गरिन। तर, लिङदेन  अर्थमन्त्री नै हुनुपर्ने भन्दै बोल्न मानेनन्।

लिङदेनले भने,‘मन्त्रीज्यू त हुनुपर्ने होला, कि उहाँको बदला अरू मन्त्रीले सुन्दै हुनुहुन्छ।’ जवाफमा उपसभामुख रानाले भनिन्,‘मन्त्री यही हुनुहुन्छ।’ लिङदेनले सोधे,‘कता हुनुहुन्छ?’ रानाले त्यही अगाडी मन्त्री भएको बताइन। 

उपसभामुख रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको भन्दै अघि बढ्न आग्रह गरिन्। अध्यक्ष लिङदेनले भने अर्थमन्त्री उपस्थित नभएसम्म बैठक ब्रेक गर्न आग्रह गरे। अर्थमन्त्री खाली भएपछि बैठक सुरु गर्न उनले आग्रह गरे। उपसभामुख रानाले अर्थमन्त्री आउँदै गरेकाले अगाडी बढ्न भनिन्।

तर लिङदेनले अर्थमन्त्रीलाई नै सुनाउनु पर्ने भएकाले थोरै समय भएको बताए। रानाले समय बढाउने आश्वासन समेत दिइन। लिङदेनले आफू उभिन सक्ने भन्दै बजेट केन्द्रित छलफल सुरु नै गरेनन्।   

अर्थमन्त्री उपस्थित भएपछि मात्रै बोल्ने अडान राखेका लिङदेनलाई उपसभामुख रानाले बजेट सम्बन्धी केही टुक्का सुनाउन आग्रह गर्दा हाँसो गुन्जियो। अर्थ सम्बन्धी केही टुक्का भन्दै गर्दा अर्थमन्त्री आउने भन्दै उपसभामुख रानाले अर्थसम्बन्धी कोटेसन भन्न आग्रह गरिन्।   

पटक पटक आग्रह गर्दा पनि लिङदेनले नमानेपछि सत्तारुढ नेकपा एमालेका सांसद दयालबहादुर शाहीले नियमापत्ती जनाए। उनले सभामुखसँग दोहोरी खेल्न नमिल्ने बताए।  

शाहीको अभिव्यक्ती नसकिदै राप्रपा सांसदहरुले उठेर विरोध जनाए। त्यतिबेला सम्म सभामुख देवराज घिमिरे बैठक चलाउन आइसकेका थिए। त्यसपछि समय पाएका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे।  

सभामुख घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधिसभामा एउटै समयमा बजेट छलफल भएकाले यस्तो समस्या विगतदेखि नै आउने गरेको सुनाए। त्यसपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित नै भएको थियो। 
 
बस्तुवादी बजेट ल्याएको दावी

अर्थमन्त्री वर्षमान पुनले भने आगामी आर्थिक वर्षको बजेट बस्तुवादी ल्याएको दाबी गरेका छन्। राष्ट्रिय सभाका सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री पुनले जनताको अहिलेको आबश्यकता र निजी क्षेत्रको मनोवल उकास्ने बस्तुबादी बजेट प्रस्तुत गरेको दाबी गरेका हुन्। 

बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने अर्थमन्त्री पुनको भनाई छ। एमसीसी परियोजना कार्यान्वयनका लागि आबश्यक रकम अर्थ मन्त्रालयमा राख्दा धेरै बजेट देखिएको उनले बताए। 
 

मन्त्री पुनले आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको बताए। 

प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी सांसद आरजु राणाले भने आलुप्याजमा भ्याट हटाएपछि नेपाली आलुले मूल्य नपाउने तर्क गरिन।

गत वर्ष भ्याट लगाउँदा नेपाली आलुले मूल्य पाएको भन्दै उनले यो वर्ष भ्याट हटाउँदा नेपाली आलुले भाउ नपाउने अवस्था हुने तर्क गरिन। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.