एमालेले रवि बोकेपछि बालेनमार्फत काँग्रेसको काउन्टर

एमालेले रवि बोकेपछि बालेनमार्फत काँग्रेसको काउन्टर

128
SHARES

काठमाडौं : प्रमुख सत्तारुढ घटक नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा स्वतन्त्र मोह देखिएको छ। एमालेले सहकारी ठगको ट्याग झुन्ड्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोकेर काउन्टर दिए पछि काँग्रेसले काठमाडौं न्यूरोडको सडक पेटी विस्तार गर्ने विवादमा मुछिएका महानगर प्रमुख बालेन शाहलाई काँध थाप्न खोजेको छ।

२०७९ मङ्सिर ४ को चुनावमा यी दुवै दलले रवि र बालेनको पक्षमा अभिव्यक्ति दिएका थिएनन्। सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंहलाई पराजित गरेका मेयर बालेनसँगको चुनावी तिक्तता बिर्सेर काँग्रेसले सहयोगी भएको छनक दिएको छ।

काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रलाई लिएर एमाले वाक युद्धमा रहेका बेला प्रमुख प्रतिपक्षी दल काँग्रेस बालेनको प्रतिरक्षामा उत्रिएको हो। देशका दुई ठुला दलले स्वतन्त्रको फेरो समाउन थालेको देखिएको छ। एमाले रवि र काँग्रेस बालेनको संरक्षणमा लागेको देखिएको छ।

दुवै दल स्वतन्त्रको पक्ष र विपक्षमा दन्त बझान गरिरहेका छन्। प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने बहसका बीच सत्तारुढ दल एमालेका सांसद स्थानीय तहको अधिकार कटौती गर्नुपर्ने माग गर्न थालेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद किरण कुमार साहले काठमाडौँ महानगर र धरान उपमहानगरलाई देखाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदा स्वेच्छाचारिता बढेको बताए।

काठमाडौँका मेयर बालेन र एमालेबीच न्यूरोड सडकको फुटपाथलाई लिएर बढेको तित्तताकाबीच एमाले सांसदको यस्तो अभिव्यक्ति आएको हो। न्यूरोडमा महानगरले फुटपाथ बढाउन खोज्दा सडक विभागले रोकेपछि बालेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार पठाएर चुनौती दिएका थिए।

त्यसको केही दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममै एमालेबाट उपप्रधानसहित सरकारको नेतृत्व गरिरहेका महासेठको प्रतिरक्षामा उत्रिएर बालेनको विपक्षमा आगो ओकल्न थालेका हुन्।

त्यसपछि बालेनले १० हजार करोड बैना लिएको गिरिबन्धु प्रकरण लुकाउन आफू विरुद्ध खनिएको आरोप लगाए। त्यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बालेनको पक्षमा बोल्दै एमाले अध्यक्ष ओलीलाई पछि हट्न सुझाव दिए।

काँग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले पनि सङ्घ र स्थानीय तहको सम्बन्ध सङ्घर्ष नभई सहकार्यमा चल्ने व्यवस्था संविधानले नै गरेकाले कार्यक्षेत्रको विवादलाई नबल्झाउन आग्रह गरे।

काँग्रेस बालेनको पक्षमा बोल्न थालेपछि एमालेले जेल बसेका नेताहरूमाथिको अपमान भनेको छ। संसद्मै यो विषयले प्रवेश पाउनु र काँग्रेसकै शीर्ष नेताहरूले बालेनको पक्षमा बोल्नुले काँग्रेसका गणेशमान, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईमाथिकै अपमान भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिक्रिया दिए।

गिरीबन्धुको फाइल खोल्न चुनौती

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन्। केही दिनअघि मात्रै एमाले सचिव योगेश भट्टराईले सो जग्गा सट्टाभर्ना गर्न मिल्ने गरी कानुन बनाउँदा काँग्रेसले पनि समर्थन जनाएको बताएका थिए।

जवाफमा शर्माले राष्ट्रियसभामा राधेश्याम अधिकारीले संशोधन सहितको समितिको प्रतिवेदन राष्ट्रिय सभामा र प्रतिनिधिसभामा डिला सङ्ग्रौला, लक्ष्मी परियार, दिव्यमणी राजभण्डारी र देवप्रसाद तिमल्सिनाले संशोधन दर्ता गराए पनि सरकारले बहुमतको बलमा कानुन बनाएको बताए।

काँग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खाएको आरोप एमाले अध्यक्ष ओलीले लगाएको भन्दै अनुसन्धान गरी काँग्रेसलाई कारबाही गर्न चुनौती पनि दिए।

समाचार शेयर गर्नुहोस्
128
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.