भारत भ्रमणमा उपलब्धि, मोदीलाई नेपाल आउन निम्तो

भारत भ्रमणमा उपलब्धि, मोदीलाई नेपाल आउन निम्तो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर फर्किएका छन्। आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति लगायतसँग भेटवार्ता गरेर सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुलाई उपलब्धिका रूपमा सुनाएका छन्। शपथ ग्रहणपछि भएको भेटमा मोदी पनि नेपाल भ्रमणमा आउन निकै उत्सुक देखिनु भएको प्रचण्डले बताए। उनले मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताए।

प्रधानमन्त्री प्रचण्डले भारत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँकी काम टुङ्ग्याउन तयार भएको दाबी पनि गरे। उनले आफूसँग भएको साइडलाइन वार्तामा पञ्चेश्वरको बाँकी काम टुङ्ग्याउन मोदी तयार भएको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको गठबन्धन पुरै समय टिक्ने दाबी गरे। आइतबार प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झन्डै दुई घण्टा छलफल गरेर नयाँ दिल्ली गएका प्रचण्डले फर्कने क्रममा पत्रकारहरुसंग कुरा गर्दै गठबन्धन भत्किन्छ भनेर डेढ वर्ष देखि रोईलो सुरु भए पनि अहिले सम्म गठबन्धन बलियो रहेको र पुरै समय टिक्ने दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले राजदूत फिर्ता बोलाउने निर्णय संयोग मात्रै रहेको पनि बताए। आफू भारत जानुअघि विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएपछि आलोचनाको घेरामा परेका प्रचण्डले उक्त निर्णय संयोग मात्र परेको उल्लेख गरे। उक्त निर्णय दुई दिन रोक्न सकिने भए पनि त्यतातर्फ ध्यान नगएको उनले स्वीकार गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि मात्रै संसद् विघटन नगरेको भए एमाले पार्टी नै नरहने भनेर दिएको अभिव्यक्तिलाई प्रचण्डले स्वाभाविक भनेका छन्। पार्टीमा राखेको अभिव्यक्तिले सत्ता समीकरणमा कुनै समस्या नआउने प्रचण्डले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.